विराटनगर — दुई महिना अगाडि सीमावर्ती मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सियाको बीपी चोकको सिटिजन्स बैंकको शाखामा भएको लुटमा संलग्न एक नेपालीसहित चार जना अदालतको आदेशले आइतबार साँझ जेल चलान भएका छन् ।बैंक लुटेको आरोपमा पक्राउ परेका रोशन यादव, विजय सहनी, श्याम मुखिया र सुनील यादवलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

लुटेको २४ लाख ८५ हजार ३ सय ९३ रुपैयाँसहित फरार ७ भारतीय नागरिक अझै पक्राउ नपरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धान अनुसार उनीहरु भारत विहारको अररियामा लुकेर बसेका छन् ।

लुटलगत्तै मुख्य योजनाकार विराटनगर–८, बलुवाहीका ३२ वर्षीय श्याम मुखियासहित तीन र केही दिनपछि थप एकजना पक्राउ परेका थिए । लगातार तीन दिनसम्म चलेको बहसपछि जिल्ला अदालतले पक्राउ परेकाहरुलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको मोरङ प्रहरीका अनुसन्धान अधिकृत डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार हालसम्मको अनुसन्धानमा एक नेपालीसहित ११ जनाको संलग्नताको खुलासा भएको छ । जसमध्ये मुख्य योजनाकार एक नेपाली र तीन भारतीय पक्राउ परिसकेका छन् । सीसीटीभी फुटेजबाट पक्राउहरुको कसुर प्रमाणित भइसकेको र उनीहरुले पनि स्वीकारेको डीएसपी श्रेष्ठले दाबी गरे । प्रहरीका अनुसार लुटमा संलग्न विरुद्ध संगठित अपराध, ज्यान मार्ने उद्योग, डाँका, हातहतियार एवं खरखजाना तथा लागूऔषधमा मुद्दा चलाइनेछ ।

रकमसहित फरार ७ भारतीय लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सीसीटीभी फुटेज र सोधपुछमा बाँकी लुटेराबारे खुलासा भएको हो । प्रहरीका अनुसार एक बैंक कर्मचारीबाट लुटिएको मोबाइलको आईएमई नम्बरसमेत ट्रयाकिङमा राखिए पनि हालसम्म त्यसमा कुनै पनि गतिविधि नभएको देखिएको छ ।

‘रकमसहित भागेकाहरु अझै भारतको अररियामा रहेको जानकारी छ, अररिया प्रहरीलाई भेटेर सम्पूर्ण जानकारी दिएका छौं, निरन्तर सम्पर्कमा छौं, पहल गरिरहेको भारतीय पक्षले बताएका छन्,’ श्रेष्ठले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here