नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन आज पनि नहुने भएको छ। चाडपर्वको कारण रोकिएका १३ जिल्लामा आज वडा अधिवेशन गर्दै कांग्रेसले आजको लागि तय गरेको थियो।
तर, सर्लाहीमा भने आजका लागि तय भएको वडा अधिवेशन स्थगित गरिएको कांग्रेसले जनाएको छ।
सर्लाहीमा जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीचको तीव्र विवाद छ। त्यही विवाद समाधान गर्न नसक्दा कांग्रेसले सर्लाहीमा महाधिवेशन प्रक्रिया सुरु गर्न खटाएका जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले शुक्रबार राजीनामा दिएका थिए।
नेपाली कांग्रेस सर्लाहीका दुई गुटबीच निर्वाचन अधिकृतको सचिवालयमा क–कस्लाई राख्ने र वडा स्तरमा निर्वाचन अधिकृतका रुपमा क–कस्लाई खटाउने भन्ने विषयमा विवाद छ। दुई पक्षको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजीनामा दिएपछि वडा अधिवेशन झनै अन्यौलमा परेको कांग्रेसका एक नेताले बताए।
कांग्रेसले यसअघि नै देशका ६४ जिल्लामा अधिवेशन प्रक्रिया सुरु गरेको थियो। जसमध्ये ५१ जिल्लामा वडा र स्थानीय तहको अधिवेशन भइसकेको छ। तर, सर्लाहीसमित १३ जिल्लामा भने अधिवेशनको प्रक्रिया नै सुरु भएको छैन।
रोकिएक जिल्लामा कात्तिक ३० गते गाउँनगरपालिका अधिवेशन गरिने कांग्रेसले जनाएको छ। प्रदेश २ का आठ, सुदूरपश्चिमको कैलाली, कर्णालीको सुर्खेत र डोल्पा, लुम्बिनीको बाँके तथा बागमतीको रसुवा जिल्लामा वडा अधिवेशन रोकिएका थिए।
कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र वडा अधिवेशन सुरु नभएका १३ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन गर्ने तयारी गरेको छ।
नेपाली कांग्रेस १३ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि आगामी मंसिर ३ गते ६४ जिल्लामा एकसाथ प्रदेशसभा अधिवेशन सुरु गर्ने कांग्रेसको कार्यतालिका छ।
मंसिर २४ देखि २६ सम्म कांग्रेसले काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।







