काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैं तिहार लगायतका चाडपर्वका लागि खसीबोका बिक्री सुरु गरेको छ।
असोज १ गतेदेखि नै सहुलियत पसलमार्फत खाद्यान्न बिक्री सुरु गरेको कम्पनीले शनिबारदेखि काठमाडौंमा खसीबोका बिक्री सुरु गरेको हो। थापाथलीस्थित कार्यालयबाट खसीबोकाको बिक्री सुरु गरिएको हो।

यो वर्ष दशैंका लागि २ हजारको हाराहारीमा खसीबोका बिक्री गर्ने तयारी गरेको कम्पनीले च्यांग्रा भने बिक्री नगर्ने बताएको छ। चीनबाट ल्याउन नसकिएको र स्वदेशमा उत्पादन नै कम भएकाले च्यांग्रा बिक्री नगर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन्।

यस वर्षका लागि कम्पनीले खसीबोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेको छ भने प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ। जसअनुसार खसीबोकाको मूल्य प्रतिकिलो ६४० पर्ने कम्पनीले जनाएको छ। गत वर्ष कम्पनीले प्रतिकिलो ५५० मा खसीबोका बिक्री गरेको थियो।

यस वर्ष खाद्यले मकवानपुर र दाङबाट खसीबोका भित्र्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here