रबिन्द्र यादव ।७ असोज परासी । एनएमबी बैंक लिमिटेडले डुवानमा परेको नवलपरासी पश्चिमका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको छ ।
बाढीबाट घरबार बिहीन भएकाहरुको जीवनयापन सहज बनाउन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामग्री वितरण गरेको हो ।
बैंकले विपतबाट प्रभावित जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ३ का ५४ घरधुरी तथा सरावल गाउँपालिका वडा नं ५ का एक सय पचास गरि जम्मा दुई सय चार घरपरिवारलाई प्रति घरधुरीलाई चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा सोयाबिन सामग्री वितरण गरेको हो ।
बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका एरिया मेनेजर युवराज पाठकले प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अंजु कुमारी चौधरीलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नु भएको सुस्ता शाखाका ऋण अधिकृत रामा शाहुले जानकारी दिए । उक्त राहत सामग्री पुर्व मन्त्री हृदयेश त्रिपाठीको विशेष पहलमा वितरण भएको स्रोतको दाबी छ । यही भदौ १० र ११ गते लगातार अबिरल बर्षाका कारण जिल्लाको सात वटै स्थानीय तह पुर्ण रुपले डुबानको चपेटामा परेको थियोे ।







