काठमाडौँ- प्रातिनिधिसभाबाट बजेट पारित भएको छ। प्रमुख प्रतिपक्ष दलको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले संसदमा विनियोजन विधेयक अघि बढाएका थिए। एमालेको नाराबाजी बिच अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयकको प्रस्ताव पेश गरेका थिए।

अघिल्लो सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। शर्माले संसदमा निर्णयार्थ प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको हो। अब विधेयक राष्ट्रियसभामा पेश गर्नेछ।

अघिल्ला वर्षहरुमा विनियोजन विधेयक छलफल एक सातासम्म हुने गरेको थियो। यस पटक अवरोधका बिच एकै दिनमा विधेयक पारित भएको हो।

एमालेले सभामुख सापकोटाको राजीनामा वा १४ सांसदमाथि कारवाही माग गरेर प्रतिनिधिसभाको बैठकलाई अवरोध गरिरहेका थिए। बजेटको छलफलमा सांसद प्रेम सुवालले मात्रै भाग लिएका थिए। उनका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेको र बजेटको आकार घटाएर यथार्थपरक बनाएको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here