पर्सा ६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता रामबाबु बैठा ठगी मुद्दामा पक्राउ परेका छन् । नेपाल प्रहरीको असई पदमा जागिर लगाइदिने भन्दै ७ लाख घुस लिएको आरोपमा प्रहरीले सोमबार नेकपा प्रदेश २ का सदस्य बैठालाई पक्राउ गरेको हो ।
पर्साका प्रहरी उपरीक्षक समोन्द्र सिंह राठौरका अनुसार २०७२ सालमा रौतहटको मौलापुर नगरपालिका–७ सगैया निवासी प्रदिपकुमार साहलाई जागिर लगाइदिने भनि बैठाले ७ लाख घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्सामा २ महिना पहिला नै मुद्दा दर्ता भएको थियो ।
उक्त ठगी मुद्दामा ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएकोमा २ जना पक्राउ परी केही दिन पहिला नै अदालतको आदेश अनुसार धरौटीमा रिहा भइसकेको र प्रमुख अभियुक्त मानिएका पोखरिया नगरपालिका–१ बनकटवा निवासी बैठा सोमबार आफैँ जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
सभार जनता समाचार