३० कार्तिक
तस्करी भइरहेको समान बरामद गर्न जाँदा बाराको सिम्रोनगढमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपको क्रममा सुरक्षाकर्मीले १० राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । सिम्रौनगढ नगरपालिकाको ७ सतुआही नाकामा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाई फायर गरेको हो । सतुआही नाकाबाट राति ११ बजे चार वटा मोटरसाइकलमा छोहाडा लोड गरी भारततर्फ लैैजादै गरेको सूचनाका आधारमा खटिएको प्रहरीले त्यसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको सीमा सुरक्षा बल १२ नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिए ।थापाका अनुसार थोरैै संख्यामा रहेको सुरक्षाकर्मीले तस्करी गर्न लागिएको छोहडा सहितको मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा नाका नजिकै रहेका पर्सा टोलका स्थानीयहरुको सहयोगमा तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए । स्थानीयहरु सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा गर्न थालेपछि तस्कर समूहले छोहडा र मोटरसाइकल लिएर भागेको थापाले बताए ।स्थानीय र तस्कर समूहको आक्रमणबाट बच्नको लागि छोहडा नियन्त्रणमा लिन पुगेको थप सुरक्षाकर्मीले बाध्य भएर १० राउन्ड हवाईफायर गरेको थापाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here