जनकपुर २८ कार्तिक । जनकपुरधाम भगवान राम र सीताको विवाह उत्सवकोरुपमा मनाइने विवाह पञ्चमीको तयारी जनकपुरमा तीव्र पारिएको छ। यो वर्ष मंसीर १५ गते विवाह पञ्चमी मनाइँदैछ। विवाह पञ्चमीका लागि तयारीलाई तीव्र पारिएका उत्तराधिकारी महन्त रामरोशनदासले बताए। भारतको सर्वोच्च अदालतले उत्तर प्रदेश राज्यको अयोध्यामा राममन्दिर निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेपछि विवाहोत्सवको तयारी थप तीव्र पारिएको दासले जानकारी दिए। यस पटकको विवाह पञ्चमी अन्य वर्षको भन्दा विशेष हुने उत्तराधिकारी महन्त दासको भनाइ छ। रामजानकी विवाहोत्सवमा हरेक वर्ष भारतको अयोध्यासहित वृन्दावनलगायतका स्थानबाट जन्तीको रुपमा साधुसन्तहरु आउने गरेका छन्। गत वर्ष विवाह पञ्चमीको अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वयं जनकपुर पुगेका थिए। महन्त दासकाअनुसार यस वर्ष अन्य वर्षभन्दा बढी संख्यामा भारतबाट साधुसन्तहरु आउने अनुमान गरिएको छ। सात दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाहोत्सवमा सहभागी हुन भारतस्थित विभित्र मठमन्दिरका मठाधीशहरुलाई निम्तो पठाइ सकिएको उनले जानकारी दिए। विवाहोत्सव भव्यताका साथ सम्पन्न गर्न जानकी मन्दिर र ऐतिहासिक बाह्रबिघा मैदानमा विशेष प्रकारको मञ्च तयार पारिने भएको छ। रामजानकी विवाहोत्सव मनाउन मूल आयोजक समितिले सातदिने कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ। जसअनुसार मंसिर १० गतेदेखि १६ गतेसम्म विभित्र कार्यक्रमको आयोजना हुँदैछ। साताव्यापी कार्यक्रमअनुसार विवाहोत्सवको पहिलो दिन मंसीर १० गते जनकपुरधामनगर दर्शन, ११ गते फूलबारी लिला, १२ गते धनुषयज्ञ, १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५ गते स्वयंवर र १६ गते वैवाहिक कार्यक्रम रहेको छ। अन्तिम दिन अयोध्यबाट आएका जन्तीहरुलाई विदाइ गर्न रामकेलवाको कार्यक्रम रहेको छ।