जनकपुर, २३ कात्तिक भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिनमा रामजन्मभूमि न्यासको हक रहने फैसला गरेपछि जनकपुरधाममा खुसीयाली मनाइएको छ । जानकी मन्दिरमा साधुसन्त, चोक तथा घरघरमा सर्वसाधरणले मिठाइ बाँडेर आपसमा खुसीयाली मनाएका हुन् । अयोध्या विवादमा भारतको सर्वोच्चले सुनाएको फैसला जनकपुरधामको लागि पनि ऐतिहासिक र महत्त्वपूर्ण रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । उनका अनुसार, जानकी मन्दिरमा आज दीपावली पनि गरिने छ ।
गौसंरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले जनकपुरवासीको अपेक्षा पूरा भएकाले उत्सव मनाएको बताए ।राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)का महासचिव राजीव झाले अयोध्यामा भव्य राम मन्दिर बन्ने निश्चित भएकाले जनकपुरवासी खुसी भएको बताए । ‘अहिले जनकपुरवासीले घरघरमा खुसी मनाइरहेका छन्,’ उनले भने, ‘हाम्रो लागि पनि यो ऐतिहासिक दिन हो । रामललाको अयोध्यामा भव्य मन्दिर बनोस् भन्ने हाम्रो चहाना हो ।’जनकपुरधामको बसपार्कमा पनि बसका मालिक, चालक, सहचालकलगायतले आपसमा खुसी साटासाट गरेका छन् जनकपुरधाम अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीले भने, ‘अयोध्यामा रामको मन्दिर बन्ने कुरा हाम्रो लागि खुसीको कुरा हो, त्यसैले खुसी मनाएका हौं । जनकपुरधामलाई भगवान रामको ससुराली मानिन्छ । अयोध्याको जमिनमा मन्दिर वा मस्सिद भन्ने विवादमा सर्वोच्चको फैसलासँगै अब त्यहाँ राम मन्दिर बन्ने निश्चित भएको छ । अहिलेसम्म त्यहाँ टेन्टमा भगवान रामको मूर्ति राखेर पूजा भइरहेको छ ।