रोहित महतो ।
जनकपुरधाम, १५ कातिक ।
मिथिलाञ्चलसहित तराई–मधेसमा धुमधामसाथ मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि सुरु भएको छ।
परिवार तथा सन्तानको सुख–समृद्धिको कामना गर्दै श्रद्धापूर्वक छठ पाँच दिनसम्म मनाइन्छ। छठको दोस्रो दिन बिहीबार ब्रतालुले नुहाएर चोखो खानेकुरा खान्छन्।
पवित्र जलाशयमा स्नान गरी व्रतालुले सात्विक भोजन ग्रहण गर्ने विधिलाई स्थानीय भाषामा नहायखाय भन्ने गरिन्छ। छठ व्रतालुको लागि बिहीबार साँझ खाने भोजन पर्व अवधिभरको लागि अन्तिम हो। शुक्रबार दिनभर निराहार बसी साँझ खरनाको प्रसाद खाइन्छ। छठ पर्वको पूर्वसन्ध्यामा खरना मनाइन्छ।
खरनामा दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर पूजा गरिसकेपछि व्रतालुसमेत परिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन्। व्रतालुले ती प्रसादबाहेक कुनै नुनिलो खानेकुरा खान नहुने मान्यता छ।
त्यस्तै चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गरिन्छ भने पाँचांै दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठको विधिवत समापन हुन्छ। यस वर्ष छठ पर्वको मुख्य दिन शनिबार परेको छ।
शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन हुन्छ। छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायत सामग्री चढाइन्छ। त्यस्तै, प्रसादका रूपमा सूर्य देवतालाई ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, विविध प्रकारका मिठाइ तथा फलफूल चढाउने गरिन्छ।
अर्घ दिने ब्रतालुले ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्छन्। छठमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकार नियम तथा निष्ठापूर्वक तयार गरिन्छ।
घर नजिकको तलाउ, पोखरी वा नदीको किनारमा घाट निर्माण गरी छठ पूजा गरिन्छ। पूजाको लागि दुई साता अघिदेखि नै तयारी सुरु भइसकेको छ। आइतबार बिहान उदाउँदो सूर्यको उपासना गरी छठको विधिवत समापन गरिन्छ।
दुलहीझैं सजाइँदै नदी–पोखरी
मुलुकमै चर्चित जनकपुरको छठ भव्य बनाउन स्थानीय दुई साताअघिदेखि नै छठको तयारीमा लागेका छन्। सूर्य भगवानलाई अर्घ दिन तराई–मधेसको नदी, तलाउ, पोखरी, इनारलगायतको जलाशयको किनारमा घाटलाई सिंगार्ने काम भइरहेको छ।

मुख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागरलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाउने कार्य जारी छ। आकर्षक पन्डाल तथा बिजुली बत्ती बालेर घाट सजाइँदै छ।
पोखरी तथा तलाउका घाट ९किनार० सजाउनकै लागि मात्रै वर्षेनी करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिन्छ। पर्वकै नाउँमा भए पनि छठपूजा गर्ने नदी तथा तलाउ सफासुग्घर गर्ने परम्परा पहिलेदेखि कायम रहे पनि अहिले सजावटका लागि स्थानीय युवा क्लबहरूले प्रतिस्पर्धा गर्ने गरेका गर्छन्।
बजारमा घुइँचो, केराको भाउ अकासियो
यतिखेर जनकपुरलगायत तराई–मधेसको बजारमा छठ पूजाका लागि सामग्री खरिद गर्नेको घुँइचो छ। छठ पर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्री ह्वातै बढेको छ।
बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टपरी तथा माटोको भाडाको व्यापार पनि बढेको छ। नरिवल, भोगटी, स्याउ, सुन्तला, उखुलगायत फलफूलको व्यापारसमेत बढेको छ।

यसपालि मागअनुसारको केराको आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेका छन्। केरा अभावमा उपभोक्ता पोहोरभन्दा दोब्बर मूल्य तिरेर केरा किन्न बाध्य भएका छन्। गत वर्ष ३ सय ५० रुपैयाँ प्रति घरी बिक्री भएको केरा यसपालि ६ सय रुपैंयाँ तिर्नुपरेको स्थानीय गुड्डु साहले गुनासो गरे।
धनुषामा मात्र गत वर्षभन्दा करिब ५० प्रतिशतले केराको आयातमा कमी आएकाले केराको मूल्य अकासिएको व्यवसायी बताउँछन्। जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका निवर्तमान महासचिव रवीन्द्रकुमार साहले यसपटक केराको बजार मूल्य अत्याधिक बढेको स्वीकार गरे।

उनका अनुसार बजारमा माग अनुसारको केराको आपूर्ति नहुँदा बजारमा केराको मूल्य बढेको हो।
छठ पर्वकै लागि जनकपुरधामलगायत धनुषाको अन्य मन्डीमा १ सय ५० ट्रक केराको माग रहे पनि यसवर्ष ८० ट्रक केरा मात्रै आयात भएको साहले बताए। यो समाचार टुडेपातीमा प्रकाशित छ ।