काठमाडौं , भदाै  १५ ।  दरबारमार्ग र ठमेलका तीन एटिएम बुथमा आक्रमण गरेर रकम निकाल्ने पाँचजना चिनियाँ ह्याकरलाई प्रहरीले सार्वजनिक गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर तीन पाँचजना चिनियाँ ह्याकरलाई उनीहरुले निकालेको रकमसहित सार्वजनिक गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले ती चिनियाँहरुले दरबारमास्थित नबिल बैंकको एटिएम तथा ठमेलस्थित हिमालयन बैंक र प्रभु बैंकको एटिएम बुथबाट एक करोड २६ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको बताएका छन्।  ‘हाम्रो अनुसन्धानमा अवैधरुपमा रकम निकाल्न तीनवटा एटिएम बुथ प्रयोग भएको छ’, उनले भने, ‘दरबारमार्गस्थित नबिल बैंक, ठमेलको हिमालयन बैंक र कमलपोखरीस्थित प्रभु बैंकको एटिएमबाट रकम झिकिएको भेटिएको छ।’ सुवेदीका अनुसार ह्याकरहरुले एक पटकमा २० हजार भन्दा धेरै रकम निकालेको भेटिएको छ। ‘ह्याकरहरुले व्यक्तिको भन्दा सिधै बैंककै खातामा आक्रमण गरेको भेटियो। बैंककै खाताबाट रकम निकालेको जानकारी आएको छ’, सुवेदीले भने, ‘रकम निकाल्न प्रयोग भएका डिभाइसहरु पनि बरामद भएका छन्। एक पटकमा २०-२० हजार मात्रै निकालेको देखिँदैन। त्यो भन्दा धेरै रकम निकालेको जानकारी हामीलाई आएको छ।’ शनिबार काठमाडौंका एटिएम बुथहरुमा विदेशीमूलका जस्ता देखिने व्यक्तिले शङकास्पद गतिविधि गरिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बोगटीका अनुसार  दरवारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट पैसा निकालिरहेको अवस्थामा सबैभन्दा पहिले चिनियाँ नागरिक झु लियाङयाङ पक्राउ परे। राहदानी नम्बर ईसी १९३७५५८  भएका उनी पक्राउ परेपछि सोधपुछका क्रममा उनको साथबाट २० थान नक्कली भिषा कार्ड फेला पेको थियो।  त्यसपछि उनले आफु बस्ने होटलको साँचो देखाएका थिए। प्रहरी टोली तत्काल हात्तीसारस्थित माया मनोहर बुटिकको कोठा न २०१ , ६०२ र ६०४ मा खानतलासी गर्न पुगेको थियो। त्यहाँ प्रहरीले होटलको लिफ्ट प्रयोग गरी भाग्दै गरेको अवस्थामा अन्य चार चिनियाँ नागरिकलाई पनि पक्राउ गर्यो। पक्राउ पर्नेहरुमा चिनियाँ ह्याकर लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन रहेका छन्। उनीहरु भदौ १३ गते चीनबाट हवाई मार्ग हुँदै नेपाल छिरेका डिएसपी बोगटीले बताए। उनीहरु नेपालबाट रकम चोरेर सोमबार चीन फर्किने योजनामा थिए। उनीहरुले १३२ थान नक्कली भिषा कार्ड प्रयोग गरी विभिन्‍न बैंकहरुको डाटा ह्यक गरी एटिएम बुथबाट रकम निकालिरहेका थिए।  एसएसपी सुवेदीले सिसिटिभी फुटेज पनि हेरिरहेको जानकारी दिए। ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौैँ,’ उनले भने, ‘थप अनुसन्धानका लागि अन्य प्रविधि पनि प्रयोग गरिरहेका छौँ। केही प्रविधि प्रयोग गरेर बढी रकम निकालेको देखिन्छ।’
थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here