खजुरा (बाँके), ११ माघ |

बाँकेमा २४ वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपालगञ्जमा आयोजित प्रतियोगितामा करिब दुई सय २५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापाले बताउनुभयो । प्रतियोगितामा विभागीय खेलाडीहरूको सहभागिता रहनेछ ।प्रतियोगिताका लागि प्रवर्द्धक राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्यसचिव जयप्रकाश भट्टराईलगायत खेलाडी नेपालगञ्ज आइसकेका छन् । शनिबारसम्म आयोजना हुने प्रतियोगितामा पुरुष एकल खुला, पुरुष युगल, महिला एकल, पुरुष युगल र पैँतालीस प्लस भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा गराइने आयोजक सङ्घका उपाध्यक्ष मीनबहादुर मल्लले बताउनुभयो ।उहाँका अनुसार पुरुष एकलतर्फ प्रथम हुनेलाई रु ७० हजार, द्वितीय हुनेलाई रु ३५ हजार, तृतीय हुनेलाई रु १५–१५ हजार, महिला एकलतर्फ प्रथमलाई रु ६० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु १५–१५ हजार, पुरुष युगलतर्फ प्रथमलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५–१५ हजार प्रदान गरिने छ ।पुरुष युगल (बि लेभल)तर्फ प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १०–१० हजार र पुरुष युगल (भेट्रान्स पैँतालीस प्लस)तर्फ प्रथम हुनेलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीय हुनेलाई रु १०–१० हजार प्रदान गरिने सङ्घले जनाएको छ ।“यस प्रतियोगितामा देशमै आयोजित व्याडमिन्टन प्रतियोगिताको भन्दा बढीको पुरस्कार राशि व्यवस्था गरेका छौँ, उपाध्यक्ष मल्लले भन्नुभयो । प्रतियोगिता आयोजनाका लागि रु ३१ लाख २७ हजार लागत अनुमान गरिएकामा प्रदेश खेलकुद परिषद्ले पनि केही सहयोग गर्ने उहाँको भनाइ थियो ।सङ्घका अध्यक्ष थापाले प्रतियोगिताले नेपालगञ्जमा ब्याडमिन्टनतर्फ आकर्षकण बढ्ने विश्वास व्यक्त गर्दै नयाँ खेलाडी तयार गर्न बालबालिकाहरूलाई सानैदेखि खेल्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here