०९ फागुन, काठमाडौँ ।
धनकुटाको चौबिसे गाउँपालिका–४ निवासी दिनेश कार्की दुई वर्षअघि ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा साउदी जेलमा रहेकालाइ नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराए । आज बिहान बालुवाटारमा कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई भेट्दै ‘प्रचण्डले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो”, प्रधानमन्त्री प्रचण्डले भने, “वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पूँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ ।”