गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए ।विहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।

उनले भने,‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन । उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ बर्ष ८ महिना पछि बर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे ।

प्रधानमन्त्रीको चीन भ्रमणको बिषयलाई लिएर दुई दलबिच खटपट भएको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको बिषयलाई लिएर वेकामको हल्ला चलाइएको बताए ।

‘एमाले र काँग्रेसबिच कुनै पनि बिषयमा कुनैपनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौं,’ उनले भने ।

नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै बिदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने बिषय सामान्य रहेको उल्लेख गरे ।

उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’ सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताए । उनले अब नयाँ कार्ययोजनासहित शान्ति सुरक्षा कायम हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here