माघ १९,
नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याइयाको छ । अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरिएको छ ।
बिहीबार अयोध्यामा एक समारोहबीच जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् । समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो । शिला हस्तानान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेपालबाट आएका सयौं मानिसहरूको सहभागिता थियो ।
रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण भइरहेको छ । मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालिगण्डकी नदीबाट शिला ल्याइएको हो । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको छनोट गरिएको हो । म्याग्दीको कालीगण्डकी नदीबाट शिला उत्खननदेखि त्यसलाई अयोध्या पुर्याउने क्रममा हजारौं भक्तजनले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका थिए ।
७ फिट लम्बाई, ५ फिट चौडाई र ३.५ फिट मोटाईका २ थान शिला म्याग्दीबाट दुईवटा लहरीमा ल्याइएको हो । १८ सय करोडको लागतमा भारत सरकारले राम मन्दिरको निर्माण गर्दैछ । मन्दिर निर्माणसँगै अयोध्याको चौतर्फी विकासका विभिन्न योजनाहरु पनि एकैसाथ सञ्चालित छन् । सडक फरकिलो गर्ने, विमानस्थलको निर्माण, रेल्वे स्टेशनको आधुनिकीकरण लगायतका ५० बढी प्रोजेक्टमा काम भइरहेको छ ।