रौतहट १७ असोज ।

दुर्गा भगवती गाउँपालिका – ३ मत्सरीमा रहेको दुर्गा मन्दिरमा विगत झैँ यस वर्ष पनि भव्य रुपमा पूजापाठ भइरहेको छ । वैदिक विधि विधानपूर्वक दुर्गाको भव्य पूजा घटस्थापनादेखि सुरु भएर विजया दशमीसम्म हुने गरेको छ ।

त्यसो त गाउँमा ३ सय ६५ दिन नै भगवतीको पूजा तथा आराधना भए पनि नवरात्रको अवधिमा विशेष नियम निष्ठापूर्वक गर्ने गरिन्छ । वर्षौंदेखि गाउँलेहरूले सामूहिक रुपमा पूजा गर्दै आएका छन् । गाउँलेहरूले नै बनाएको दुर्गा पूजा समितिले पूजाको सम्पूर्ण व्यवस्थापन गर्दै आएको छ । नवरात्र अवधिभरिमा घटस्थापना गरेर २४ घण्टे दुर्गा सप्तशतीको पाठका साथै प्रत्येक दिन वेद पाठ, पुराणको पाठ तथा अन्य प्रकारको अनुष्ठानको आयोजना हुँदै आएको छ । मैथिल बाहुनहरूको बाक्लो बसोबास रहेको मत्सरीमा शक्तिको उपासना पहिलादेखि नै हुँदै आएको छ । एक्कै परिवारबाट विस्तारित भएको सम्पूर्ण गाउँको इतिहास मध्यकालीन मिथिलाका राजधानीसँग जोडिएको छ । बागमती नदीको पश्चिम तटमा हाल अवस्थित रहेको मत्सरी गाउँलाई पटक पटक बागमतीले कटान गरेपछि केही दशक अगाडि नदीमा स्थायी तटबन्धको निर्माण गरेर सुरक्षित पार्ने काम भएको छ । नवरात्रको सातौँ दिन मध्य रातमा कालरात्रिको विशेष पूजा रातभरि नै हुने गर्दछ । रातभरि नै मन्दिर परिसरमा भक्तजनहरूको भीड रहन्छ । आइतबार फूलपाती विधि अन्तर्गत वेलपत्रसहित अन्य वनस्पतिहरू मन्दिरमा भित्र्याउने विधि सम्पन्न भएको छ । बाजा गाँजा झाँकी,हेलिकोप्टरबाट पुष्पवृष्टि गर्दै हात्ती घोडासहितको शोभा यात्राले षष्ठी तिथिका दिन वेलपत्रलाई न्यौता दिने काम भएको थियो । आइतबार मध्य रातमा कुभिन्डोको बलि दिइने छ । बोका बलि सोमबारबाट सुरु हुनेछ । दुर्गा पूजालाई भव्यता दिनका लागि नाचगान तथा अन्य प्रकारका मनोरञ्जनको व्यवस्था गरिएको छ । षष्ठी तिथिदेखि एकादशी तिथिसम्म विशेष मेला लाग्ने गरेको छ । मन्दिरमा भाकल अनुसारको प्रसादसहितका बोका बलि तथा दर्शन गर्नका लागि नेपाल तथा भारतका विभिन्न ठाउँबाट ठूलो संख्यामा भक्तजनहरू मत्सरीको दुर्गा मन्दिरमा आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here