काठमाडौं,३२,असार  ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । अध्यक्ष लिङदेनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भईरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो । उहाँले सबै दलहरुसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रह समेत गर्नु भयो । पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढन सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने पनि अध्यक्ष लिङदेनले दावी गर्नु भयो । नेपाल–चीन हिमालयन मैंत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरकोले मुलुकमा विदेशी हस्तक्षेप बढन गएको तर्क समेत गर्नु भयो । अध्यक्ष लिङदेनले भन्नु भयो, ‘सुघौली सन्धि पछि पछिल्लो समय नेपालको परराष्ट्र सम्बन्ध कमजोर भएको छ भन्ने मर्लाइ लाग्छ । हस्तक्षेपहरु गोलाबारुद्धको साथमा मात्रै नआउने रहेछ । र, सम्बन्धहरु एक ढंगले मात्रै परिभाषित नहुने रहेछ । हामीले आफ्नो सत्ता स्वार्थका लागि जे पनि सम्झौंता गर्न तयार हुन्छौं ।

हस्तक्षेपहरु त आउने नै भयो । विदेशीहरुको समर्थन नलिईकन सत्तामा टिक्न सकिदैन भन्ने मान्यतालाई बल दिन थाल्यौ भने त्यो त हस्तक्षेप बनेर आउनेनैछ । त्यसकारण सबभन्दा पहिले नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलको सिद्धान्तलाई जोसुकै पार्टीको सरकार भएपनि साझा मान्यताको रुपमा अगाडि लिएर जानुपर्दछ । देशभन्दा माथि अर्को कुरा केही छैन । देशको हित सर्वोपरी छ । देशको हितको अगाडि कुनै दल र कुनै नेता गौंण हुन्छ । त्यसकारण नेताको स्वार्थ, दलको स्वार्थभन्दा माथि देशको स्वार्थ राख्नु पर्दछ । यसलाई हामीले शिरमा राखेर गयौ भने मलाई लाग्छ–हस्तक्षेप भयो, विदेशीहरुको दवाव भयो भन्नुपर्ने दिन आउँदैन । त्यसकारण हामीले हाम्रो देशलाई कस्तो बनाउने ? सम्बन्धहरु कस्तो बनाउने भन्ने कुराहरु त हामीले नै निर्धारण गर्ने हो । जब हामी त्यसमा विचलित हुन्छौं । स्वभाविक रुपमा अरुले हस्तक्षेप गर्छन । आज पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा जुन प्रकारको अतिक्रमण बढदै गएको छ । त्यसलाई रोक्नका लागि पनि देशका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी छ । र, मलाई लाग्छ–आज भन्दा २५० वर्ष अगाडि बडामहाराज पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगो बीचको तरुल हो भनेर नेपालको परराष्ट्र नीतिबारे भू राजनीतिक जो संवेदनशीलता हो । उत्तर र दक्षिणका छिमेकहरुको जो अवस्थिति हो । त्यसलाई ध्यानमा राखेर परराष्ट्र नीति बनाइएको थियो । मलाई लाग्छ, पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई लिने हो भने केवल परराष्ट्र नीतिमात्र होईन । विना पूवाग्रह भएर हेर्ने हो भने एउटा राष्ट्रिय नीति नै बन्न सक्दछ । त्यसकारण यो दिव्य उपदेशलाई कोशेढंगा मानेर हामीले हाम्रो परराष्ट्र नीति र राष्ट्रिय नीति बनाएर गयौ भने देश फेरी पनि आफ्नो खुट्टामा उभिने, असंलग्न राष्ट्रको पहिचानलाई कायम राख्ने सकिनेछ । अवको दिनमा परराष्ट्र नीतिको बारेमा अवको दिनमा कुनै दल विशेषको कुरा गर्नु भन्दा पनि सबै दलहरुको साझा नीति बन्नु पर्छ । यसका लागि सरकारले पहल गर्नुपर्छ । सबै दलहरु एकठाउँमा बसेर हाम्रो साझा परराष्ट्र नीति बनाउनुपर्छ भन्ने आग्रह गर्दछु । अध्यक्ष लिङदेनले सबै दलको सहमतीमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पनि पटकपटक दोहो¥याउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here