काठमाडौं,२३,असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले देश बेचेर खाने पार्टीहरुलाई भोट हाल्नै नदिने चेतावनी दिनु भएको छ । एमसीसीमा राष्ट्रघात गर्ने दलहरुलाई आवश्यक परे नेपाली सेनासँग मिलेर भएपनि १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्नै नदिने उहाँको जिकीर थियो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले देश बेचेर खानेहरुलाई नेपाली जनताले भोट हालेर अधिकार दिन नहुने बताउनु भयो । आफ्ना केही पुराना साथीहरुले राजासँग नेपाली सेनालाई मिलाएर आफूहरुले अरु पार्टीलाई प्रतिबन्ध लगाउने खोजेको भनाई आएको उल्लेख गर्दै महासचिव विप्लवले देश बेचेर खाने दलालहरुलाई किन प्रतिबन्ध नलगाउने भनि प्रश्न गर्नु भयो । उहाँले भन्नु भयो, ‘मेरा केही पुराना साथीहरुले भनेछन–विप्लवहरुले त राजासँग सेनालाई मिलाएर अरु पार्टीहरुलाई प्रतिबन्ध लगाउन खोजेका थिए, खोज्दैछन । लगाउने पनि हो । दलालहरुलाई प्रतिबन्ध लगाईदैन त ? दलालहरुलाई प्रतिबन्ध लगाउनुपर्छ । देश बेचेर खाने मान्छेहरुलाई भोट हाल्न दिनु हुँदैन । नेपालमा उनीहरुलाई १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्न दिनु हुँदैन । पहिलापहिला फटाहा वकिलहरुलाई १० वर्ष लेख्नै नपाउने बनाएजस्तै गरिदिनु पर्छ । देश बेचेर खानेहरुलाई जनताले अधिकार दिनु हुँदैन । किनभने त्यस्तालाई नेपाली जनताले स्विकार गर्दैनन नि त । नेपाल प्रहरी र नेपाली सेनाले पनि त्यो कुरा बुझेजस्तो लाग्छ । देश नरहे प्रहरी र नेपाली सेनाले कहाँ काम गर्छ । महासचिव विप्लवले देश बेच्नेहरुलाई नेपाल प्रहरी र नेपाली सेनाले पनि साथ दिन नहुने बताउनु भयो । उहाँले एमसीसी र एसपीपी सम्झौंता आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्विकार्य नहुने दोहो¥याउनु भयो ।