काठमाडौं,२३,असार  ।

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफुमाथि
लागेको अभियोग छानबिन गर्न बनेको संसदीय समितिलाई छानबिनका लागि सहयोग गर्न
पदबाट राजीनामा दिएको बताउनु भयो । उहाँले बजेट निर्माणका क्रममा आफ्नो
मूल्य, मान्यता र नैतिकतालाई डग्मगाउन नदिएको उल्लेख गर्नुभयो । उहाँले आफू
एउटा मात्रै होइन हजारौँ छानबिनको लागि तयार रहेको पनि बताउनु भयो ।
अर्थमन्त्री शर्माले आफूमाथि अनावश्यक र झुटा आरोपहरु लगाइएको भन्दै सबै
आरोपहरुलाई अस्वीकार तथा खारेज गर्ने बताउनु भयो । बजेट
निर्माणको सन्दर्भमा मैले आफ्नो मूल्य, मान्यता, नैतिकता, मेरो
राष्ट्रप्रतिको जनताप्रतिको इमान्दारितालाई मैले कतैपनि डग्मगिन दिएको छैन,
दिदिन । भोलि पनि दिदिन । म हजारौँ छानबिनको लागि तयार छु । एउटा छानबिन
होइन हजारौँ छानबिनको लागि म तयार छु । छानबिन गरियोस् । एउटा संसदीय
छानबिन मात्रै होइन, सबै छानबिनका लागि म तयार छु । त्यसकारणले एउटा
राजनीतिक व्यक्ति भएको नाताले हिजो यस्तो प्रचलनहरु, यस्तो विषयहरु नउठेका
होइनन् । छानबिन समिति नबनेको होइन । छानबिन समिति बनेका विभिन्न अनुभवहरु
छन् । विभिन्न पक्षहरु छन् । आज आम नागरिकले विषय उठाएको कारण, नागरिक
समाजले विषय उठाएको कारण, आम नागरिकलाई एउटा भ्रम सिर्जना भएको कारण मैले
आफू सही गरेको, गल्ती नगरेको, राष्ट्रको पक्षमा, देशको पक्षमा काम गरेको
हुँदाहुँदै पनि यो भ्रम सिर्जना भएर जुन समस्या मैले देखिरहेको छु ।
त्यसलाई सत्य, तथ्यले नै स्पष्ट गर्नेछ भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।
देशको, राष्ट्रियताको, राष्ट्रको, जनताको पक्षमा उभिएर निरन्तर संघर्षबाट
अगाडी बढिरहेको एउटा व्यक्तिमाथि अनावश्यक झुटो लाञ्छनाहरु, आरोपहरु जो
लगाइएको छ । त्यसको म आफ्नो तर्फबाट त्यसलाई अस्वीकार गर्दछु । खारेज
गर्दछु । छानबिन समितिले गर्ने काममा मेरो पूर्ण सहयोग हुनेछ । छानबिन
समितिलाई म सहयोग गर्नेछु र यस्ता छानबिन समितिहरु बन्दा विगतमा मन्त्री
कायम भएरै छानबिन भएका पनि तथ्यहरु छन् । तर म त्यो चाहँदिन । म छानबिन
समिति बनाउने कुरा आज मात्रै आएर भयो । छानबिन समिति बनाउने कुरा मेरो कुरा
थिएन । मैले व्यक्तिगत रुपमा गर्न सक्ने कुरा थिएन । आज सरकार र
सभामुखज्यूको पहलमा जो समिति भएको छ यसलाई म स्वागत गर्छु । धन्यवाद दिन्छु
। र यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको
घोषणा पनि गर्दछु । छानबिनले ल्याएको तथ्य, सत्यका अगाडी म उपस्थित भएर
फेरि म आफ्ना विषयवस्तुहरुलाई आफ्नो अभियानलाई, आफ्नो कामलाई अगाडी बढाउने,
देश र जनताको पक्षमा लाग्ने प्रतिवद्धता पनि गर्न चाहन्छु ।’

उहाँले बजेट निर्माणका क्रममा आफूले कुनै त्रुटी नगरेको बताउनु भयो ।
अर्थमन्त्री शर्माले स्थापित मान्यता, विधि र पद्धतीको आधारमा तोकिएकै
अधिकारीहरुमार्फत् बजेट निर्माण भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो –
‘मैले बजेट निर्माण गर्दा कुनैपनि त्रुटी गरेको छैन । स्थापित मान्यता,
विधि र पद्धतीका आधारमा, तोकिएका आधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण
भएको छ । यो सच्चाइलाई कसैले पनि अर्को झुटो सावित गर्न सक्दैन । करको
दररेट हेरफेर गर्ने सन्दर्भमा अर्थ मन्त्रालयका दुईवटा सचिव र दुईवटा
डिजीहरुलाई नीतिगत निर्देशन गरेको छु । देशको उत्पादन वृद्धि गर्नुपर्ने
आवश्यकतालाई हेरेर, विदेशी मुद्राको सञ्चितिलाई कायम गर्नुपर्ने आवश्यकता
हेरेर डलरको सञ्चिति कसरी गर्न सकिन्छ, कसरी हामी उत्पादन वृद्धि गर्न
सकिन्छ, औद्योगिक क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनेर कच्चा
पद्धार्थहरुमा कर नबढाउने र जनताले उपभोग नगरेपनि हुने, नेपालमै उत्पादन
हुने वस्तुहरुमा करको दर बढाउने र महंगो डलर मूल्य पर्ने साधनहरुलाई कर
केही बढाएर आम जनताको लागि कम डलर खर्च गरेर आउने साधनहरुमा यथावत राख्ने
नीति लिएको कुरा म स्पष्ट गर्न चाहन्छु ।’

अर्थमन्त्री शर्माले आफूले अर्थ मन्त्रालयको सिसिटिभि फुटेज डिलेट नगरेको
बताउनु भयो । आफूलाई सिसिटिभि फुटेजको क्षमताको बारेमा जानकारी नरहेको
उल्लेख गर्दै उहाँले आफूलाई डिलेट गर्नु आवश्यक नभएको पनि स्पष्ट पार्नुभयो
। कुन सिसिटिभिको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु
? कति वर्ष पहिला राखेको सिसिटिभि बारे मलाई कसरी जानकारी हुन्छ ? सायद अब
यो शिक्षाबाट त सबै मन्त्रीले ख्याल गर्ने होला । कुन मन्त्रीले गएर
सिसिटिभिको क्षमता सबैभन्दा पहिले जानकारी लिन्छ होला ? कसरी थाहा हुन्छ ?
यहाँ अहिले भएको सिसिटिभि बारे हामी माननीयहरुलाई के जानकारी होला ? त्यो
प्राविधिक व्यक्तिले जान्ने कुरा होला । त्यसलाई डिलेट ग¥यो भनेर आम
नागरिकलाई भ्रमित गर्ने जो प्रयत्न गरिएको छ त्यसको म खारेज गर्न चाहन्छु ।
सत्यतथ्य त्यहीँ छ । मैले कसरी त्यसको जवाफदेहिता लिनसक्छु । मलाई कुनैकुरा
डिलेट गर्नुपनि छैन । र मलाई त्यो जरुरी पनि होइन र त्यसको मलाई ज्ञान पनि
छैन । अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदले ११ सदस्यीय छानबिन समिति
गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here