दाङ– दाङमा ट्राफिक नियम विपरीत सवारी चलाउने १४ हजार बढी चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिने अवधिमा ट्राफिक नियम विपरीत सवारी चलाउने १४ हजार बढी चालक कारबाहीमा परेका हुन् ।  सिट क्षमताभन्दा बढी सवारी राख्ने, सिट बेल्ट नबाँधी सवारी चलाउने, सवारी चलाउँदा फोन प्रयोग गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने र साथमा सवारीसाधनको कागजपत्र नबोक्ने सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रमुख थम्मन जिसीले जानकारी दिए ।

चार महिनामा मापदण्ड विपरीत सवारी चलाउनेबाट ९२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । चालू वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ७ सय सवारी चालकबाट ९२ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जिल्लामा चालू वर्षको कात्तिकमा सबैभन्दा बढी सवारी चालक कारबाही परेका छन् ।

कात्तिकमा मात्रै ४ हजार २ सय सवारी चालक कारबाहीमा पर्दा २५ लाख ९८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । साउनमा ३ हजार १५० सवारी चालकबाट २० लाख २७ हजार, भदौमा ४ हजार ५० सवारी चालकबाट २५ लाख ६८ हजार र असोजमा ३ हजार ३ सय चालकबाट २० लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख जिसीले जानकारी दिए ।

चार महिने अवधिमा सबैभन्दा बढी मोटरसाइकल चालक कारबाहीमा परेका छन् । यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार ४७३ सवारी चालकबाट ३६ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, ३ हजार ३१२ सवारी चालककबाट २१ लाख १३ हजार, १ हजार ७ सय ४० जिप, कार चालकबाट १० लाख ३३ हजार, १ हजार ५ सय २४ बस चालकबाट ८ लाख ६९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, १ हजार ३९२ टेम्पोबाट ८ लाख ११ हजार र १ हजार २ सय ५९ ट्रयाक्टरबाट ७ लाख ८० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । गत वर्ष यसै अवधिमा अर्थात् साउनदेखि कात्तिक मसान्तसम्म १६ हजार सवारी चालकलाई कारबाही गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here