काठमाडौं, १९ बैशाख । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुख्य समस्या प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा रहेको भन्दै तेस्रो अध्यक्ष बन्न ओलीले राखेको प्रस्ताव अस्वीकार गरिदिएका छन्।

वरिष्ठ नेता नेपाललाई ओलीले पार्टीको सचिवालय बैठकमा तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग विहिवार साँझ भएको भेटमा नेपालले सो प्रस्ताव अस्वीकार गरेका हुन्।

‘आज प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट भएको छ। प्रधानमन्त्री ओलीले तेस्रो अध्यक्ष हुनका लागि राख्नु भएको प्रस्ताव नेता नेपालले अस्वीकार गर्नु भएको छ,’ नेता नेपाल निकट एक नेताले भने।

गत सोमबार नेपाल र ओली पक्षबीच भएको अनौपचारिक वार्तामा केही प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु परिवर्तन गरेर नेपालले सिफारिस गरेकालाई मन्त्री र मुख्यमन्त्री बनाउने प्रस्ताव पनि ओलीले राखेका थिए।

मुख्य समस्या ओलीको कार्यशैलीमा रहेको भन्दै नेता नेपालले मन्त्री र मुख्यमन्त्री परिवर्तनले निकास नदिने बताएका थिए। उनले ओलीले पार्टी र सरकार दुवैको नेतृत्व छाड्नुपर्ने निश्कर्षमा नेता नेपाल रहेको स्पष्ट पारे।

‘ओलीले पार्टी र सरकार दुवैको नेतृत्व गर्न नसक्ने निश्कर्षमा अहिले पनि कायम छौँ। त्यसैले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छाड्नु पर्ने विषयमा अडिग छौं,’ ती नेताले भने।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री नेपाल, झलनाथ खनालसहितको नेताहरुले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए।

बिहीबार साँझ प्रधानमन्त्री ओलीले नेता नेपाललाई संवैधानिक निकायहरुमा गरिने नियुक्तिका लागि छलफल गर्न बेलाएको नेपाल निकट नेताहरुले बताएका छन्। स्रोत गोरखा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here