बर्दिया १९ माघ । बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ। नेपाल(भारत सीमामा ८८ नम्बर पिलरनजिकै नेपालतर्फ हात्तीले आक्रमण गर्दा गाईवस्तु चराउन गएको एकजनाको ज्यान गएको हो। ज्यान जानेमा बर्दियाको राजापुर नगरपालिका १० भगतपुरका ४९ वर्षीय लक्ष्मीप्रसाद थारू रहेको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए। यस्तै, हात्तीकै आक्रमणबाट सोही ठाउँकी ३२ वर्षीय उमा चौधरी घाइते भएको प्रहरी चौकी खैरिचन्दनपुरले जनाएको छ। घाइते भएकी चौधरीलई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ। बर्दियामा पछिलो समय जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ। प्रत्येक वर्ष बर्दिया राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वन र भारतीय जंगल कतरनियाघाटबाट गाउँ पस्ने हात्तीले स्थानीयलाई दुःख दिने गरेका छन्। जंगली हात्तीले बालीनालीमा क्षति पुर्याउनुका साथै घरगोठ भत्काउने तथा मानवीय क्षति नै गर्न थालेपछि मध्यवर्ती क्षेत्र तथा निकुञ्ज आसपासका स्थानीय रातभर त्रासमा बस्न बाध्य भएका छन्।