सिरहा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता राजकिशोर यादवले सामाजिक रुपान्तरणको जिम्मेवारी सबैमा बोध हुनुपर्ने बताएका छन् ।सिरहाको मिर्चैयास्थित मोहन उमाविमा आइतबार आयोजित झोला तथा सेनेटरी प्याड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले सामाजिक रुपान्तरणको कुरा उठाएका हुन् ।उनले समाजमा छोरीमाथिको फरक नजरिया अझ कायमै रहेको भन्दै यसलाई बदल्न समाज नसच्चिएर नहुने धारणा राखेका छन् ।प्रतिनिधि सभाका सांसद समेत रहेका नेता यादवले समाज र घरघरबाट महिला हिंसाको अन्त्यका लागि छोरीलाई दाइजो नभई शिक्षा दिइनुपर्ने बताए ।‘छोरीलाई दाइजो दिनैपर्ने मानसिकता बदलौं, यो घोर अपराध हो, छोरीलाई शिक्षा दिऔं’, उनले भने, ‘तबमात्र समाजिक रुपान्तरण सम्भव छ, यो जिम्मेवारी सबैमा बोध हुनुपर्छ ।’मुलुर र समाजको समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताउँदै उनले समाजमा परिवर्तनको लागि महिला सशक्तिकरण आवश्यक रहेको बताए ।नेता यादवले जगत जननी माता सीता, लक्षमी र सरस्वतीको प्रसंग जोड्दै यहाँको संस्कार र संस्कृति आफैंमा ऐतिहासिक रहेको भन्दै यसको रक्षाको लागि सबैले जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।उनले प्रदेश २ सरकारले नारी हितको लागि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेकोप्रति प्रदेश सरकारलाई धन्यवादसमेत दिएका छन् ।प्रदेश २ सरकारको महात्वाकांक्षी योजनामध्ये एक ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत मोहन उमाविमा आइतबार झोला एवं सेनेटरी प्याड वितरण गरिएको छ ।सो विद्यालयमा कक्षा ७ मा अध्ययनरत एकसय ८ जना छात्राहरुलाई झोला तथा सिरहाका विभिन्न पाँच विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको हो ।कार्यक्रममा सांसद राजकिशोर यादव, मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण यादव, प्रदेश सांसद दिलीप साह, शिक्षा निर्देशनालय प्रदेश २ का प्रमुख लगायतको सहभागिता थियो ।