म्याग्दी ७ माघ । म्याग्दीको सदरमुकाम बेनीको मंगलघाटबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलघाट बस्ने २५ वर्षीय मनोज खत्री र २२ वर्षीय आशिष खत्रीलाई बेच्ने तयारीमा राखिएको लागुऔषधसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए। दुवै दाजुभाइ हुन्। उनका अनुसार गोप्य सूचनाका आधारमा मंगलबार प्रहरीले घरमा नै पुगरे खानतलासी गर्दा डाइजेपाम १ सय ४ एम्पुल, फेनोरागन १ सय ४ एम्पुल,नुर्फिन १ सय ६ र सिरिन्ज २ थान फेला पारेपछि खत्री दाजुभाइलाई पक्राउ गरेको हो। प्रहरी निरीक्षक शर्माका अनुसार लागुऔषध प्रयोग गर्ने व्यक्तिहरूको पनि खोजी भइरहेको छ। लागुऔषध प्रयोगकर्ताले प्रयोग गर्ने विभिन्न साधनहरूसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई भाइलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि शर्माले बताए।