काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले आन्दोलनरत उखु किसानलाई न्यायो लुगा वितरण गरेका छन् । कठ्यांग्रिने चिसोले बिरामी परिरहेका बेला नेता बजगाईंले शुक्रबार माइतघर मण्डला पुगेर उखु किसानलाई ज्याकेट वितरण गरेका हुन् ।
वक्यौता रकम भुक्तानीको माग गर्दै एक साता अघिबाट आन्दोलनरत उखु किसानलाई झण्डै ७० हजार रुपैयाँ बराबरको ज्याकेट वितरण गरिएको उनले जानकारी दिए । नेता बजगाईं प्रदेशसभा निर्वाचनमा गोर्खाबाट चुनाव लडेका थिए ।
यसैबीच कांग्रेसको भ्रातृ संगठन नेपाल कृषि श्रमिक संघले उखु किसानहरुको आनदोलनमा ऐक्यवद्धता जनाएको छ । संघले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकार समक्ष किसानको वक्यौता रकम अविलम्ब भुक्तानीका लागि पहल गर्न आग्रह पनि गरेको छ ।
संघका अध्यक्ष विमला गैरे र महासचिव ठानप्रसाद पोखरेलले शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर किसनको माग पूरा गरी उनीहरुलाई घर फर्काउने वातावरण निर्माण गर्न माग गरेका छन् । १२ खरीबाट ।