काठमाडौं,९ पौष । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।
पार्टीले बुधबार सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलन समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् ।
सरकारलाई दिएको समर्थन फिर्तासंगैं अध्यक्ष यादवले संसदमा प्रतिपक्षमा रही भूमिका निर्वाह गर्ने समेत बताएका छन् ।
आयोजित पत्रकार सम्मेलनमा उनले सहकार्यको संस्कृति हटाउँदै एकलौटी निर्णय नेकपाबाट हुँदै आएको र आफूहरुको मुख्य माग संविधान संशोधन रहेको उल्लेख गरे। संविधान संशोधन हुनसक्ने सम्झेर कानुन मन्त्रालयको जिम्मेवारीलाई आफूले अवसरको रुपमा लिएको तर आफूले काम गर्न खोज्दा प्रधानमन्त्रीले ठाडै उल्लंघन र अस्वीकार गर्नु गलत भएको उनले दाबी गरे। संविधान संशोधनको आवश्यकता नै छैन भन्ने प्रधानमन्त्रीको भनाइ गलत भएको उनको दाबी छ।
‘लिखित सम्झौता गरेपछि विश्वास गरिएको थियो, तर धोका दिनेको दोष हो विश्वास गर्नेको होइन,’ उनले भने, ‘अब सरकारको दुई तिहाईको दम्भ समाप्त भएको छ, सरकार अब कम्युनिष्टको मात्र छ।’
करिब १८ महिना अघि सरकारमा सामेल भएको समाजवादी पार्टीले मंगलबार पदाधिकारीहरुको बैठक गरी उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यादव र सहरी विकास मन्त्री इस्तियाक राईलाई राजीनामा दिन लगाई सरकारबाट बाहिरिएको थियो ।
सरकारबाट बाहिरिएको भोलिपल्टै समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here