उदयपुर १२ मंसिर। बुधबार साढे ९ बजे बेलका नगरपालिका–३ सातपत्रेबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
नगरपालिका–३ सातपत्रेका १९ वर्षिय मनोज खत्रीलाई कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । एसपी बुढामगरका अनुसार खत्रीले सातपत्रेबाट रामपुरतर्फ आउँदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरमा सवार १८ वर्षिय विश्व खड्कालाई ट्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोलसमेत देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । खबर पाउनासाथ खत्रीलाई कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एक राउण्ड गोलीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मनोजसँगै एक जना फरार भएकोले उनको खोजीकार्य जारी रहेको एसपी मगरले जानकारी दिए ।