पर्वत १२ मंसिर । जिल्लामा निर्माण भइरहेको एक सरकारी अस्पतालले सरकारले बनाएको कार्यविधि मिचेर कामलाई अगाडि बढाएको छ । करिब ३० करोड रुपैयाँ लागतमा निर्माणाधीन अस्पताल भवनको न्यूनतम आचारसंहितासमेत पालना नगरी आधा भन्दाबढी काम अगाडि बढाएको हो । सरकारले २०७३ सालयता बन्ने सरकारी तथा निजी संरचनामा भवन निर्माण आचारसंहिता कडाइकासाथ लागू गर्ने निर्णय गरेको थियो । ०७२ को भूकम्पपछि बन्ने सबैजसो संरचना भूकम्पप्रतिरोधी बनाउन सरकारले चालेको कदम सरकारी संरचनामा नै पालना भएको छैन । १५ शय्याको अस्पताललाई ५० शय्याको बनाउन थालिएको भवनको आधा भन्दाबढी काम सकिने बेलासम्म नक्सापास भएको छैन । भ्याट र कन्टेन्जेन्सीबाहेक २५ करोड ९७ लाख १० हजार रुपैयाँमा ०७५ साउन १ देखि निर्माण शुरु भएको हो । भवनको लागत मूल्य १३ प्रतिशत भ्याट र ५ प्रतिशत कन्टेन्जेन्सीसहित हिसाब गर्दा ३० करोड ६४ लाख ५८ हजार हुन्छ । अस्पतालको विकासको लागि अहोरात्र खटिएका अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीसँग बुझ्न खोज्दा गैर जिम्मेवारी जवाफ दिएर पन्छिन खोज्नुभयो । अध्यक्ष पहाडीले नक्सापास गर्नेबारे आफूलाई जानकारी नभएको बताउँदै आफूहरुले खाली आँखाले हेर्ने मात्र हो भन्दै प्रतिक्रया दिनुभयो । कुश्माका प्रमुख प्रशासकीय अधिकृत हरि पँगेनीकाअनुसार अस्पताल भवनको नक्सा पास गराउन सम्बन्धित निकायलाई जानकारी गराइएको छ । स्थानीय तह र त्यहाँका प्राविधिकसँग समेत समन्वय गर्नुपर्ने भए पनि हालसम्म अस्पताल भवन निर्माणबारे कुनै विषयमा अस्पताल विकास समिति, ठेकेदार र भवन डिभिजन कार्यालयले समन्वय नगरेको पँगेनीले बताउनुभयो । शहरी विकास तथा भवन निर्माण विभागको कास्कीस्थित कार्यालयले अस्पताल भवनको नक्सापास गर्न बजेट अभाव भएको जनाकारी दिएको छ  । भवनको नक्सापास गर्नेबारे ठेकेदार कम्पनी, अस्पताल विकास समिति तथा भवन डिभिजन कार्यालय तीनै पक्षले अनभिज्ञता जनाए । निर्माण व्यवसायीका इन्जिनियर नवीन अधिकारीले नक्सा पासलगायत कानुनी प्रक्रिया निर्माण व्यवसायीको जिम्माभित्र नपर्ने दाबी गर्दै दिएको इस्टिमेटअनुसार आफूहरुले काम गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here