बारा, १० मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले तराई मधेश क्षेत्रको विकासले गति लिन नसकेको गुनासो गरेका छन् ।
प्रदेश नम्बर २ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि बाराको निजगढ स्थित सहिद हिरालाल रंगशालामा मंगलबार आयोजित वृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित उपस्थित अतिथिहरुमाथि प्रश्नको वर्षा गर्दै यस्तो गुनासो गरेका हुन् ।

निरंकुश शासन व्यवस्थाविरुद्ध लामो समय संघर्षमा बिताएको जनताको प्रतिनिधिको रुपमा आफू उपस्थित भएको बताउदै अध्यक्ष साहले प्रदेश नम्बर २ को विकास तथा समृद्धिका लागि सरकारले गरिरहेको कामको हिसाब किताब माग गरेका छन् ।
‘हामी पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल लगायत उपस्थित मन्त्रीज्युलाई सोध्न चाहन्छु कि यस प्रदेशको विकासको लागि हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकारले के गर्दैछ ?’ अध्यक्ष साहले भने, ‘विकासको सम्भावनै सम्भावना भएको यस प्रदेशमा जारी राष्ट्रिय गौरवको आयोजनाहरुले किन गति लिन सकेको छैन ? हामी जवाफ चाहन्छौं ।’
एक राष्ट्रिय गौरवका आयोजना तथा राष्ट्रिय महत्वका कार्यक्रम र आयोजनाको नाम तोकेर अध्यक्ष साहले हिसाबकिताब खोजेका हुन् । उनको प्रश्न थियो, ‘फास्ट ट्र्याकमा हामी प्रदेशवासी कहिले यात्रा गर्ने, कुरा मात्रै सुन्ने कि पूरा पनि हुने हो म उपप्रधानमन्त्री ईश्वर पोखरललाई सोध्न चाहन्छु । दोस्रो अन्तर्राष्ट्रि विमानस्थलबाट हामी प्लेन चढने पनि हो कि कथा मात्र सुन्ने हो ? हुलाकी सडकलाई १२ मिटरमा खुम्च्याएर मधेश विकासको कस्तो सपना देखाउनुभएको हो हामीले बुझ्न सकेका छैनौं । कम्तिमा ५० मिटर सडक सीमामा निर्माण गर्ने होइन भने हुलाकी सडक बनाउनुको के नै अर्थ हुन्छ र ? म सोध्न चाहन्छु । हामी जनताले के गर्नुपर्छ हामी सबै गर्न तयार छौँ तर हाम्रा सबै आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्यो ।’

मंगलबार आयोजित विशाल जनसभाको प्रमुख अतिथि नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहनु भएको थियो भने प्रदेश नं. २ का अध्यक्ष प्रभु साहको अध्यक्ष रहेको सभामा पार्टीका महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार मन्त्री रामेश्वर राय यादव, प्रदेश पदाधिकारीसहित सयौं नेताको उपस्थिती रहेको थियो । हजारौं जनतालाई उपस्थित गराएर सत्तारुढ दलकै प्रदेश कमिटीले सरकारमाथि दबाब सृजना गरेको यो पहिलो कार्यक्रम हो ।

प्रदेश नम्बर २ मा काठमाडौ–तराई मधेश द्रुतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारा, हुलाकी लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, कोशी कमला डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । यस्तै बिभिन्न राष्ट्रिय महत्वका आयोजनाहरु समेत सञ्चालन भईरहेको छ । सभामा राष्ट्रिय गौरवका आयोजना कार्यालयका प्रमुखद्वारा प्रगति पनि प्रस्तुत गरिएको थियो ।
