काठमाडौं, ७ मंसिर ।
जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले मधेशीहरुलाई काठमाडौंको आँखीझ्यालबाट चियाएर भूतप्रेत भनेर नचिनाउन आग्रह गरेका छन् ।
डा.राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा आयोजना गरेको ‘रंगभेद विरुद्ध एकता सभा तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन कार्यक्रम’मा सम्बोधन गर्दै यस्तो आग्रह गरेका छन् ।
डा.राउतले सम्बोधनका क्रममा, ‘हामीले खोजेको यत्ति हो कि मधेशीलाई मानवको श्रेणीमा राखियोस् । मधेशीलाई मानव सरह व्यवहार गरियोस्, हामीले खोजेको यत्ति हो’ भने ।
‘हाम्रा सन्तानहरू निर्भिक भएर आफ्नो शीर ठाडो पारेर यो भूमिमा हिँड्न सकून्, हामीले खोजेको यत्ति हो ।’
उनले भने, ‘हाम्रा सन्तानहरू निर्धक्क काठमाडौंका कलेज र स्कूलहरू जान सकून्, हामीले खोजेको यत्ति हो ।’
कालो भएकै कारणले कक्षाकोठामा उनीहरू रंगभेदको शिकार हुनुपरेको भन्दै कालो भएकै कारण उनीहरू जागिरबाट वंचित नहोऊन् बताए।
उनले, ‘कसैको आत्मसम्मान पुलिस र सेनाको बूटले न कुल्चिऊन्, कसैको आवाज बन्दुकको नालले बन्द नगरिओस्, । कसैको स्वतन्त्रतता हाथमा हथकडी लगाएर अपहरित नहोस् ।’ समेत सम्बोधनमा राखेका थिए ।
हजारौंको सहभागीतामा काठमाण्डौंको खुल्लामञ्चमा सम्पनन कार्यक्रम अगाडी उनका सर्मथकहरुले उनका नाराहरुका साथ ठाउ ठाउबाट रैली निकाल्दैं खुल्लामञ्च पुगेका थिए भने डाक्टर राउतलाई कडा सुरक्षा प्रदान गरिएको थियो ।