काठमाण्डौ, ३ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजबाट औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् ।
मंगलबारैदेखि औपचारिक काम थाल्नुभएका सल्लाहकार थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासम्म पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
उहाँले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने भन्दै जुनसुकै बेला पनि सञ्चारकर्मीसँग समन्वय गर्ने समेत बताउनुभयो ।
‘प्रधानमन्त्रीसँग सम्बन्धित कुरा बाहिर ल्याउन कुनै कमी हुन दिइने छैन’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र सरकारका कामलाई जनतासमक्ष पु¥याउन सञ्चारकर्मीमार्फत अधिकतम कोशिस गर्नेछु ।’
सल्लाहकार थापाले प्रधानमन्त्रीसँग सम्बन्धित कुराको प्रेस विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई जानकारी गराउनेसमेत बताउनुभयो । पारदर्शितालाई जोड दिने भन्दै उहाँले प्रधानमन्त्री र सरकारका जिम्मेदारीका कतिपय संवेदनशील कुरालाई भने सञ्चारकर्मीसँगको छलफलबाट समाधान गर्ने समेत बताउनुभयो ।
उहाँले अहिले सञ्चारमाध्यममा अतिरन्जित र गलत समाचार आउने समस्या रहेको भन्दै त्यस्ता समाचारलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले राम्रो काम गर्दा स्याबासी र गलत काम गर्दा खबरदारी समेत गर्न उहाँले आग्रह गर्नुभयो । सल्लाहकार थापाले सरकारका राम्रो कामको सम्प्रेषण नभएको भन्दै मन्त्रालयगत रुपमा एकीकृत ढङ्गले सबै मन्त्रालयका गतिविधिलाई सम्प्रेषणसमेत गरिने जानकारी गराउनुभयो ।
भेटघाट कार्यक्रममा सञ्चारकर्मीले प्रधानमन्त्रीका गतिविधिलाई सहजरुपमा उपलब्ध गराउन आग्रह गरेका थिए । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट थापा प्रधानमन्त्री ओलीको प्रेस सल्लाहाकारमा नियुक्त हुनुभएको हो ।
उहाँलाई सरकारले राज्यमन्त्रीसरहको सुविधा प्रदान गरेको छ । यसअघि उहाँले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रूपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका थापा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य, नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादक समेत हुनुहुन्छ । संभार उज्यालोअनलाईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here