महोतरी, १ मंसिर ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले प्रेस लोकतन्त्रको अक्सिजन भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको नवनिर्मित भवनको प्रथम तल्लाको उद्घाटन गर्दै यादवले जुन देशको प्रेस जति बलियो र स्वतन्त्र हुन्छ त्यहाँको लोकतन्त्र त्यति बलियो हुने गरेको बताए।
डाक्टर यादवले देशको समुचित विकासमा स्वतन्त्र प्रेसले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुनाले प्रेसलाई कुनैपनि देशले संकुचन गर्न नहुने र देश, समाज तथा जनताको चौतर्फी विकासका लागि पूर्ण प्रेस स्वतन्त्रतालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका थिए ।
प्रेस संकुचनमा परे लोकतन्त्र धरापमा पर्ने र लोकतन्त्र धरापमा परे जनताले दुःख पाउनुका साथै विकासका सारा बाटाहरु बन्द हुने उल्लेख गर्दै देश र जनताका भलाइ तथा समुचित विकासका लागि देशमा पूर्ण प्रेस स्वतन्त्रता हुनु पर्नेमा जोड दिए।
कूल ३६ लाख ५३ हजारको लागतमा निर्माण भएको महासंघको प्रथम तल्ला भवनको आज भएको सो उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न भएको छ भने कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानलगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो।