रौतहट,२७ कार्तिक ।
नेपाली काँग्रेसका सांसद मोहम्मद आफताव आलमको मुद्दामा जिल्ला अदातलत गौरमा बुधबार तेस्रो दिन पनि बहस जारी रहेको छ ।
इजलास नं. ४ का जिल्ला न्यायधिश दिकप ढकालको इजलासमा आलम पक्षका एक वरिष्ठ अधिवक्ता सहित चार जना अधिवक्ताहरुले बहस गरे ।
वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ताहरु अजय कुमार पटेल, संजिव कुुमार मल्लिक र लालबाबु यादवले आलमको पक्षमा बहस गर्दै बिना आधार दुःख दिने नियतले प्रहरीले आलममाथि मुद्दा चलाएको जिकिर गरे ।
प्रहरीले तयार पारेको पहिलो र पछिलो दुबै प्रतिवेदनमा आलमको कतै संलग्नता नदेखिएको वकिलहरुले दावी गरेका थिए ।
पहिलो संविधान सभाको निर्वाचनका बेला २०६४ चैत्र २७ गते बमकाण्डमा मृत्यु भएका भनिएका त्रिलोक प्रताप सिंह भन्ने पिन्टु सिंह २०६४ मंसिर देखि नै फरारको सूचीमा रहेको अभियुक्त भएको उनकोे शव प्राप्त नभएसम्म मृत्युु भएको प्रहरीको दावीमा कुनै दम नरहेको अधिवक्ताहरुले बहसमा क्रममा जिकिर गरे ।
अधिवक्ताहरुले निर्दोष आलमलाई साधारण तारेखमा रिहा गरेर मुद्दामाथि छानबीन अघि बढाउन जोड दिएका छन् । आलमलाई राजनीतिक पूर्वाग्रहको कारण फसाइएको बरिष्ठ अधिवक्ताहरुको दावी रहेको छ ।
कर्तव्यज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थ भण्डारनको गरी तीन वटा मुद्दामा पक्राउ परेका आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरिरहेका छन् । आलमका पक्षमा यसअघि नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खडका, शेरबहादुर केसी, वरिष्ट अधिवक्ता युगनाथ खनाल, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कृष्ण घिमिरे भुषण र गोपालकृष्ण घिमिरे, अधिवक्ता सतिस कुमार झाले बहस गरि सकेका छन् ।
आलम पक्षका वरिष्ठ अधिवक्ताहरुले बहसको क्रममा प्रहरीले निराधार मुद्दा दर्ता गरेर आलमलाई दुःख दिएको भन्दै जनताबाट निर्वाचित पूर्वमन्त्रीसमेत रहेका आलमलाई अदालतले रिहा गरेर मुद्दाको छानबिन हुनुपर्नेमा जोड दिएका थिए।
आलम २०६४ चैत्र २७ गते राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोक प्रताप सिंह (पिन्टु) र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इट्टा भट्टामा जलाएको आरोपमा सर्वोचको आदेश पछि गएको असोज २६ पक्राउ परेका थिए । प्रहरी आलमलाई पक्राउ गरी कानुनी प्रकृया बढाएको थियो ।