काठमाण्डौ १८, कार्तिक।
पूर्व सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।
आफनै संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका महरालाई थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएकाले थुनामै राख्न अदालतले आदेश दिएको हो।
काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको हो ।
पीडितले दिएको जोहरी, घटनास्थलको मुजुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा पीडितले घटनास्थलमा दिएको बयानको आधारमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
अदालतको आदेशपछि महरालाई डिल्लीबजार कारागार पठाइएको छ । अब यो मुद्दाको किनारा नलागेसम्म महरा कारागारमै बस्नु पर्नेछ । काठमाण्डौं जिल्ला अदालतमा महराका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गर्नुभएको थियो । आइतबार महराको पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएको थियो ।
आइतबार बहस नसकिएपछि सोमबारलाई हेर्दाहेर्दैमा राखिएको थियो । महराको पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको थियो । अदालतमा बहस भैरहँदा पीडित भनिएकी रोशनी शाहीले बन्द इजलासमा बोल्ने अनुमति मागे पनि न्यायाधी पाण्डेले अनुमति दिनु भएन । महराले बलत्कार प्रयास गरेको भनेर प्रहरीमा जाहेरी दिए पनि उनले अदालतमा भने बयान फेरेकी थिइन् । महरा आफ्नो कोठामा नआएको उनले अदालतमा बयान दिएकी थिइन्। महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।