काठमाण्डौ, १७ कार्तिक ।
सातै वटा प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार एकलौटी ढंगमा चल्न खोजेको यो घटनाले देखाएको बताउनुभयो । प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई सरकारले मनपरी ढंगले हटाएर सर्वसत्तावाद लाद्ने षड्यन्त्र गरिएको उहाँले बताउनुभयो ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै पौडेलले सरकारको यो निर्णयको कांग्रेसले विरोध गर्ने पनि बताउनुभयो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको हो ।