कास्की, ३ कात्तिक (रासस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले आज दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय लेखनाथका खरीदार भानु नगरपालिका–६ तनहुँका मनोहरी भट्टराई र लेखापढी व्यवसायी फलेवास नगरपालिका–१ पर्वतका प्रकाश पौडेललाई अख्तियारले नियन्त्रणमा लिएको हो । जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले रु १२ हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले अपराह्न ४ः३० बजे नियन्त्रणमा लिएकोे आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो । उनीहरु माथि थप छानबिन भइरहेको र आयोगको कार्यालयमा राखिएको उहाँले बताउनुभयो ।