काठमाडौँ, ३० असोज (रासस

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ । सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । विश्व ट्रमा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो जानकारी दिँदै स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासका लागि बजेट, जनशक्ति तथा पूर्वाधारको अभाव रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नुपर्छ । अर्थ मन्त्रालयको स्वास्थ्यमा बजेट बढाउन ध्यान गएको छैन । सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको नीति छ ।” स्वास्थ्य सचिव खगराज बराललले सातवटै प्रदेशमा ट्रमा सेन्टरको आवश्यकता औँल्याउँदै काठमाडौँको ट्रमा सेन्टरको विकासमा मन्त्रालयले ध्यान दिएको छ भन्नुभयो । ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवले अन्य उपचारको तुलनामा ट्रमाको उपचारका लागि लामो समयसम्म गर्नुपर्ने भएकाले दुर्घटना नै हुन नदिन विशेष सचेतनाका कार्यक्रम सञ्चालनको आवश्यकता औँल्याउनुभयो । ट्रमा सेन्टरमा थप उपकरण र जनशक्ति अभाव रहेको उहाँले गुनासो गर्दै तत्काल एमआरआई उपकरणको अति आवश्यकता रहेको छ भन्नुभयो । हाल सेन्टरमा ११ श्ययाको आइसियु दश श्ययामा मात्र सञ्चालनमा छ । आर्थिक वर्ष २०७२÷७३ मा चोटपटक लागेर अन्तरङ्ग सेवा (ओपिडी) लिने बिरामीको सङ्ख्या २८ हजार ३२३ रहेकामा गत आर्थिक वर्षमा सो सङ्ख्या ७९ हजार २३९ रहेको थियो । यसैगरी सेन्टरमा आव २०७२÷७३ मा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या पाँच हजार ४६६ रहेको थियो । आव २०७५÷७६ मा १८ हजार २६३ जनाले सेवा लिएको सेन्टरले जनाएको छ । आव २०७२÷७३ भर्ना हुनेको सङ्ख्या तीन हजार ७११ थियो भने अहिले बढेर चार हजार २४ जना पुगेको छ । सवारीसाधन दुर्घटना मात्र प्रत्येक दिन पाँचदेखि सात तथा वार्षिक करीब दुई हजार जनाको अकालमा मुत्यु हुने सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले साउन र भदौमा मात्र काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा परी २८ जनाको मृत्यु भएको बताउनुभयो । दुर्घटनामा मृत्यु हुनेमध्ये महिला २४ प्रतिशत तथा पुरुष ७६ प्रतिशत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here