आरके श्रीवास्तव ।
ओमान, १० अक्टोबर ।
ओमानमा चलिरहेको टि २० सिरिजमा ओमान सँग नेपाल ६ विकेटले पराजित भएको छ । राजधानी मस्कटको ओमान क्रिकेट एकेडेमीको ग्राउन्डमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियोे ।
ब्याटिङ गर्न उत्रेको नेपाल ११ ओभर खेल्दै ६४ रनमा अलआउट भएको थियोे । पाँच राष्ट्र सम्मिलित २०–२० सिरिजमा नेपालले ओमान विरूद्ध निकै खराब ब्याटिङ गरेको थियोे । नेपालका लागि कप्तान पारस खड्काले ५, आरिफ शेखले २०, दीपेन्द्र सिंह ऐरीले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेका थिएनन् । ओमानका लागि बलिङ गरेका आमिर कलिमले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको ओमानले ११ ओभर ५ बलमा ४ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियोे । नेपालको तर्फबाट सन्दिप लामिछानेले १ , सोमपाल कामीले १ र करण केसीले २ विकेट लिएका थिए । ओमानको तर्फबाट सुरज कुमार एक्लैले ४२ रन बनाएका थिए । स्मरणीयहोस् नेपालले यस अघिको खेलमा हङकङ र नेदरल्यान्ड दुईटै टिमलाई चार चार विकेटले हराउन सफल भएको थियो । बुधबार भएको खेलमा नेपाललाई आयरल्याण्ड विरुद्ध १३ रनको हारको सामना गर्नुपरेको थियोे । सिरिजमा आयोजक राष्ट्र ओमान, नेपाल, नेदरल्यान्ड, आयरलैण्ड र हङकङ प्रतिस्पर्धा गरेका थिए । जितको आशमा धेरै संख्यामा पुगेका नेपाली समर्थकहरू निराश भएर फर्किएका थिए । सिरिजमा सबै खेल जितेको ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ । आयरल्यान्ड ६ अंकका साथ दोस्रो स्थामा रहेको छ । नेपालले ४ खेलमध्ये २ खेल मात्रै जितेर ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । आजको खेल सँगै पाँच देश सहभागी टि २० प्रतियोगिता टुंगिएको छ ।