बाँके १९, असोज रासस ।
बाँके दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार, उनीहरुलाई जुवाखालसहित रु ९० हजारभन्दा बढी रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
चाडपर्वलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले आपराधिक गतिविधि नियन्त्रण गर्नतर्फ लागेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । प्रहरी कार्यालय नजिकै चोरी कोहलपुर नगरपालिका वडा नं १० मा रहेको एक घरमा गएराति चोरी भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखको निवासदेखि अन्दाजी २०० मिटर दूरीमा रहेको घरमा चोरी भएको हो । घरमा कोही नभएको मौका छोपी चोरी गरिएको खुल्न आएको छ । घरका सबै सदस्य बाहिर रहेको र नजिकैका अन्य घरमा समेत कोही नभएको समयमा गहना र नगद चोरी गर्ने उद्देश्यले घरमा चोर पसेको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख शाहीको अनुमान छ ।घटनाको सम्बन्धमा अनुसन्धान गरी चोरको खोजी भइरहेको उनले जानकारी दिए ।