जे.पी.उदास ।
रौतहट, १५ आशिन ।
विजया दशमीसँगै मधेसमा झिझिया नृत्यको रौनक ठाँउ ठाँउमा छाएको छ। रौतहटसहित सम्पूर्ण मधेसका गाउँ–गाउँमा साँझ हुनासाथ झिझियाका लोकगीत घन्किन थालेको छ।
‘तोहरे भरोसे बरहम बाबा झिझिया बर्नली हो, बरहम बाबा झिझिया पर होख न सवार’ निरन्तर बज्ने गीतमा बालिकाहरू समूह बनाएर झिझिया नृत्यमा सहभागी भई रहेका छन् । रातिको खाना पश्चात ग्राम देवता ब्रह्मबाबाको मन्दिर वरपर जम्मा भई झिझिया नृत्य गर्ने गर्छन्। दसैंसम्म नाच्ने झिझिया नृत्यले भूत–प्रेत भाग्ने जनविश्वास छ।
नृत्यमा सहभागीहरु टाउकोमा एउटा घैंटो राखेका हुन्छन्, जसमा साना–साना प्वाल पारिएको हुन्छ। घैंटोभित्र गोबर राखी दियो बालिएको हुन्छ। नृत्य गर्ने बालिकाको टाउकोमा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती बालिकाको तत्काल मृत्यु हुने जनविश्वासका कारण घैंटो बोकी नाच्ने र गाउने बालिकाहरु फनफनी नाची रहन्छन्।

रौतहटका प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, दुर्गा मन्दिर गंगापिपरा, पौराई मन्दिर, गरुडा चोक, सदरमुकाम गौर, शुकदेव चोक, समनपुर, मलाहीटोल, सिमरा भवानीपुर, शितलपुर, मौलापुर, बंकुलमा झिझिया नाच्न बालिकाहरू जुटेका हुन्छन्। वर्षौदेखि चल्दै आएको धर्म, संस्कृति र परम्परा जगेर्ना गर्न बालिकाहरू संलग्न भइरहेको संचारकर्मी चंचल झा बताउछन् ।
गृष्मको बिदाइ र शीतको आगमनसँगै नवरात्रिभरि गाइने गीत र झिझिया नृत्यले दसैंमा सबैको मनलाई प्रफुल्लित र आनन्दविभोर बनाइदिने गर्दछ । मिथिलाञ्चलको पहिचान बोकेको यस नृत्यमा विभिन्न समुदायका बालिकाहरूको सहभागिता हुने गर्दछ । उनीहरू घटस्थापनाभन्दा अगाडि नै माटोको घैंटो ल्याई त्यसमा अनगिन्ती प्वाल पारी नवरात्रा प्रारम्भ भएपछि ५ देखि २५ जनाको समूहमा रही ती घैंटोमा बत्ती बालेर टाउकोमा राखी छमछमी नाच्ने र गाउने गर्छन्।
तर, ग्रामीण भेगमा भने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको लोप हुँदै गएको छ । सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता ९ब्रम्हस्थान० स्थलमा पुगेर बडा दसैं पर्वमा महिलाले सुरिलो भाकामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने गरेका यो प्राचीन तान्त्रिक नृत्य अब मधेसका गाउँबाट हराउन थालेको हो। दसैंका बेला बज्ने झिझिया गीत र नृत्यले युवा पुस्तादेखि बुढापाका सबैलाई मन्त्रमुग्ध बनाउने गरेको भाषा,संस्कृति संरक्षणका लागि कार्यरत संस्था ग्रामिण शिक्षा विकास नेपाल रौतहटका अध्यक्ष श्रीमति रामा यादवको भनाइ छ ।
दसैंका बेला गाइने झिझिया गीत र नृत्यको महत्वलाई हेरी हाम्रो संस्था ग्रामिण शिक्षा विकास नेपाल रौतहटले प्रत्येक वर्ष प्रतियोगितासमेत आयोजना गरिरहेको अध्यक्ष यादव बताउछिन । यस्तै दसैंमा विषेश रुपमा पूजा र मेलाको आयोजना गर्नेहरुले पनि झिझिया नृत्य प्रतियोगिता गराउने गरेको देखिन्छ ।