विराटनगर — हेर्दा करिब ७०/७५ वर्ष उमेरकी देखिने विराटनगर महानगरपालिका जनपथ टोलकी वृद्धा सुशीला पासवान घाँस काट्न विराटनगर र सुनसरीको बर्जुगाउँपालिका जोड्ने केसलिया खोलापारी पुग्छिन् । उनको घरमा हरियो घाँस खाने कुनै वस्तु भने पालिएको छैन । प्रचण्ड गर्मीमा र घाममा घाँस काट्नु र त्यो घाँस विराटनगरमा ल्याएर बिक्री गर्नु नै उनको आम्दानीको एक मात्र स्रोत हो । आफ्नो उमेर यत्तिनै हो भनेर भन्न नसक्ने वृद्धा सुशीलालाई उनले घाँस बेच्न थालेको ठ्याक्कै कति वर्ष पुग्यो सम्झना छैन । तर, उनी भन्छिन्, ‘केसलिया खोला पारीको उखुबारीबाट घाँस काटेर बेच्न सुरु गर्दा म जवान थिएँ । मेरो बिवाह पनि भएको थिएन ।’ बल र बैंस हुँदा उनको घाँसको भारी पनि ठूलै हुन्थ्यो । तर, त्यो अवस्था अहिले छैन । अहिले घाँस काट्न १ घण्टा हिंडेर केसलिया खोला किनार र उखुबारी त पुग्छिन तर चाहेजति घाँसको भारी ल्याउन सक्दिनन् । त्यसैले कहिलेकाहिं त घर वरिपरि नै पाइने बर, पीपल, कटहर लगायतका वृक्षका साना–साना हाँगा पात बटुलेर उनी विराटनगरको घाँस चोकमा बेलुका घाँस बेच्न बस्छिन् । वृद्धावस्था भइसके पनि सडकपेटीमा धुलो, धुँवा र गर्मीको पर्वाह नगरी घाँस बेच्नु उनको बाध्यता हो । श्रीमान् र भएको एउटा छोराको पनि मृत्यु भएपछि वृद्धा सुशीलाले घाँस बेचेरै आफ्नो गुजारा गर्दै आएकी छन् । आर्थिक रूपमा निकै विपन्न सुशीला घाँस बेचेर कहिले दिनको दुई सय त कहिले तीन सय आम्दानी हुने गरेको बताउँछिन् । जीवन निर्वाहका लागि घाँस बेच्नैपर्ने उनको बाध्यता छ । ‘आफ्नो खेतीबारी केही छैन अब यो उमेरमा कुनै अरू काम गर्न पनि सक्दिन र कसैले दिँदा पनि दिँदैनन्,’ उनले भनिन्, ‘सकेको दिन खोलापारी घाँस काट्न जान्छु नत्र घरवरिपरी नै भएका बर, पीपल, कटहरका पात र साना साना हाँगा बटुलेर बिक्री गरेको आम्दानीले आफ्नो गुजारा चलाउँछु ।’ श्रीमान् र छोरा हुँदा उनको पनि शरीरमा तागत थियो । त्यसबेला घाँसको भारी पनि ठूलो थियो र आम्दानी पनि धेरै । ‘बुढेसकालमा छोरा साहारा बन्ला र घाँस बेच्न छाडिदिन्छु भन्ने सोचेकी थिएँ,’ आँसु झार्दै सुशीलाले भनीन्, ‘कलिलो उमेरमै छोराको मृत्यु भयो, मेरो भागमा यही लेखिएको रहेछ ।’ उनीसँगै घाँस बेच्न बसेकी विराटनगर महानगरपालिका ६ ब्रह्मपुराकी ६५ वर्षीया राजकुमारी साफीले पनि यसरी घाँस बेच्न थालेको वर्षौं भयो । यही चोकमा घाँस बेच्न सुरु गर्दा उनी पनि जवान थिइन् । आमाबुबाको कमजोर आर्थिक अवस्था र जग्गाजमिन पनि नभएकाले उनले आम्दानीको स्रोतका रूपमा घाँस बेच्ने काम रोजिन् । उनको यो नियती विवाह पश्चात पनि फेरिएन । एलेनी जग्गामा बस्दै आएकी राजकुमारी एकल महिला हुन् । केही वर्षअघि उनको पनि श्रीमान्को मृत्यु भइसक्यो । उनीसहित ५ जनाको परिवारको गुजारा उनले घाँस बेचेर नै गछिन् । ‘सानैदेखि यही चोकमा घाँस बेचेको अरु केही जानेको छैन,’ उनले भनिन्, ‘खेतीकिसानी गर्न पनि आफ्नो जग्गाजमिन छैन ।’
तराईको प्रचण्ड गर्मी होस् या जाडोको शीतलहर उनीहरूलाई यसको पर्वाह छैन । बिहानको खानापछिको उनको काम नै घाँस काट्ने र साँझ घाँस चोकमा बिक्री गर्ने हो । सडक किनारमा घाँस बिक्री गर्न बस्ने उनीहरूलाई सवारीका धुँवाको पिर त छँदै थियो त्यसमाथि पनि अहिले विराटनगरमा भइरहेको सडक निर्माणका कारण उड्ने धूलोले थप समस्यामा पारेको छ । त्योभन्दा ठूलो पिर त ६ लेनको सडक निर्माणको काम सम्पन्न भइसकेपछि यसरी नै सडक किनारमा घाँस बेच्न नपाइने पो हो कि भन्ने छ । ‘अब त सडक बनेपछि सडकको छेउमा यसरी घाँस बेच्न दिँदैनन् भन्ने सुन्दै छु,’ राजकुमारीले भनिन्, ‘खै यत्तिका वर्षदेखि यसरी नै सडक किनारामा घाँस बेचेर जीवन गुजारा गरियो अब के गर्ने हो ?’ विगतका वर्षमा त विराटनगरका धेरै घरमा पशु पाल्ने चलन रहेको र आफूहरूसँग घाँस खरिद गर्न आउनेको कुनै कमी नहुने गरेको उनीहरू बताउँछन् । तर, पछिल्ला केही वर्षयता भने यो क्रम बन्द भएको छ । अब उनीहरूको घाँस गुद्रीमा रहेका मासु पसलेले मात्रै खरिद गर्छन् । मासु पसलमा बिक्रीका लागि राखिएका खसी बोकालाई ख्वाउन उनीहरूले यहाँका महिलासँग घाँस खरिद गरेका हुन् । विराटनगर महानगरपालिका वडा नम्बर ६ मा रहेको यो चोकको नाम नै ‘घाँस चोक’ हो । सुशीला पासवान, राजकुमारी साफि जस्ता धेरैजना महिलाले वर्षौंअघिदेखि यहाँ बसेर हरियो घाँस बेच्न थालेकाले वर्षौं पहिले नै यस चोकको नाम घाँस चोक रहन गएको हो । कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here