काठमाडौं, भदौ २० । झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन्।अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।बरमनले फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाइलेटमा पसी ढोका बन्द गरेर आफ्नो शरीरमा आगो लगाएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बरमनलाई मृत अवस्थामा फेला पारेको हो।आफ्नै शरीरमा आगो लगाउनु पर्ने कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ। देवरको मुङ्ग्रो प्रहारबाट शर्मिला घाइते
यता, झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आज बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गरी २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन्।घरायसी विवादमा नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले शर्मिलाको टाउकोमा काठको मुङ्ग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। विक्रम फरार रहेकाले खोजीकार्य भइरहेको छ। प्रहरीका अनुसार शर्मिलाको उपचार धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको छ । नेपालखबर