सिरहा, २० भदौ ।
महिला सहित प्रहरीले छुट्टाछुट्टै दुई मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। मिर्चैयास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कर्जन्हा नगरपालिका २ बन्दीपुरका २४ वर्षीय रञ्जितकुमार यादवलाई पक्राउ गरेको हो, सिरहा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अपिलराज बोहराका अनुसार प्रहरीले लेनदेन बिगो मुद्दाको फरार प्रतिवादी मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया आशादेवी गोसाई समेतलाई पक्राउ गरी मिर्चैया प्रहरीमा ल्याई शुक्रबार सिरहा जिल्ला अदालतमा वुझाइएको छ। कर्जन्हा २ की ३५ वर्षीया रीतादेवी सहनीले दिएको किटानी जाहेरीको आधारमा यादवलाई पक्राउ गरिएको र जबरजस्ती करणीको मुद्दा फैसला हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक बोहराले उल्लेख गरे। त्यस्तै मिर्चैया नगरपालिका ५ की दुर्गादेवी मण्डलको जाहेरीको आधारमा सिरहा जिल्ला अदालतको २०७३ असार २० गतेको फैसला अनुसार गोसाईलाई ८ महिनाको कैद फैसला भएपनि फरार रहेकाले खोजी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। भारतीय मुद्रासहित पक्राउ प्रहरीले जिल्लाको सीमावर्ती सिरहा नगरपालिका १७ माडर बसपार्कबाट अवैध रुपमा सटहीस् गर्न राखिएको भारतीय मुद्रासहित सिरहा १५ का २६ वर्षीय नरेश साहलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साहलाई माडरस्थित शिवसक्ति जेनरल स्टोरमा सटही गर्ने उद्देश्यले प्लाष्टिकको झोलामा लुकाएर राखेको ६५ हजार एक सय ५० भारतीय मुद्रासहित पक्राउ गरी थप अनुसन्धानका लागि शुक्रबार सुनसरीको इटहरीस्थित आन्तारिक राजश्व विभाग बुझाइएको छ।