असार ११
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारमा बसेर घर नै भरिने गरी भ्रष्टाचार गरेको अभियोगमा एक नायब सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । भन्सारका नायब सुब्बा रामप्रसाद भट्टराईसँग २ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
सरकारी सेवामा प्रवेश गरेपछि भन्सारमा बसेर उनले करोडौंको स्रोत नखुलेको सम्पति जोडेको भेटिएको अख्तियारले जनाएको छ । पछिल्लो समय कञ्चनपुर भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा भट्टराईको २ करोड ८ हजार ५४० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अकुत सम्पत्ति जफत गरी सोहीबराबरको जरिमाना र कैद सजाय माग गरी आयोगले मुद्दा दायर गरेको हो । नासु भट्टराईलाई गत वर्ष २९ साउनमा आयोगको टोलीले १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । भारत वनबासाबाट व्यापारिक प्रयोजनका मालवस्तु क्यारिङ गर्दा भन्सार शुल्कमा सहुलियत प्रदान गर्ने भन्दै उनले घुस लिएका थिए । उनीसँग अकुत सम्पत्ति रहेको सूचना पाएपछि आयोगले त्यससम्बन्धी छुट्टै छानबिन गरी मुद्दा दायर गरेको हो । भन्सार कार्यालय कर्मचारीको रोजाइको कार्यालयमा पर्दै आएको छ ।

सरकारी जागिरमा जोडिएपछि उनले १ करोड १४ लाख ९१ हजार १५१ रुपैयाँ वैध रूपमा आर्जन गरेका थिए । तर, पछिल्लो समय उनीसँग ३ करोड १४ लाख ९९ हजार हजार ६९१ रुपैयाँ सम्पत्ति भेटिएको थियो । २ करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत खुल्न नसकेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

अख्तियारले गलत प्रतिवेदन बनाएर रकम हिनामिना गरेको अभियोगमा २ जनाविरुद्ध विशेष अदालतमा भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ । कृषक समूहलाई वितरण गर्नुपर्ने अदुवाको बीउलगायतका कृषि सामग्री खरिद नै नगरी ५ लाख ७० हजार ३५० रुपैयाँ रकम हिनामिना गरेको अभियोगमा तत्कालीन कर्णाली सामुदायिक विकास केन्द्र नेपालगन्जमा कार्यरत तत्कालीन कृषि प्राविधिक मोतीप्रसाद न्यौपाने र साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगन्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्यांकन अधिकृत देवराज भुसालविरुद्ध मुद्दा दर्ता भएको हो ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी गरिएको छ । यस्तै, अख्तियारले श्रीस्थान ताजा तरकारी उत्पादन कृषक समूह, व्यावसायिक अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष रामकुमारी केसी भन्ने रामकला केसीले आफूलाई गैरकानुनी लाभ पु¥याउने काम गरेको भन्दै भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ ।
दैलेखको कुइकानास्थित श्रीस्थान ताजा तरकारी कृषक समूहलाई अदुवा खेती गर्न साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगन्जबाट प्राप्त भएको रकमको खेती नगरी रकम हिनामिना भएको अख्तियारले दायर गरेको अभियोगमा उल्लेख छ ।

श्रीस्थान ताजा तरकारी उत्पादन कृषक व्यावसायिक अदुवा समूह, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना र नेपाल राष्ट्र बैंक नेपालगन्जबीच उपआयोजना सञ्चालन गर्न भएको त्रिपक्षीय सम्झौताअनुसार कृषक समूहलाई वितरण गर्नुपर्ने अदुवाको बीउलगायतका कृषि सामग्री सम्झौता भएको थियो । समूहका कृषकहरूले पाउनुपर्ने रकमसमेत नदिई खेती नै नगरेका कृषकहरूको भरपाईसमेतका नक्कली बिललगायतका कागजात तयार गरी रकम अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ ।

त्यस्तै, अख्तियारले शिक्षा विकास तथा समन्वय एकाइ सल्यानमा कार्यरत एकाइ प्रमुख (शाखा अधिकृत) धनबहादुर वलीले शिक्षक सरुवा प्रक्रिया सहजीकरणका लागि सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको छ । अख्तियारले (शाखा अधिकृत) धनबहादुर वलीलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।श्रोत टिभी अन्नपुर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here