मनहरी । मनहरी गाउँपालिका प्राकृतिक स्रोतसाधनले भरिपूर्ण गाविस हो । हाँडीखोला र मनहरी गाविस मिलेर बनेको यो गाउँपालिका गिटी, बालुवा, ढुंगा, जडिबुटी, काठ पैदावार लगायतका प्राकृतिक स्रोतले भरिपूर्ण देखिन्छ भने यहाँबाट बग्ने दुईवटा महत्वपूर्ण नदिहरुले पनि मानव जीवन र समग्र प्राणी जगतको अस्तित्वलाई चरितार्थ गरेको पाइन्छ ।
साबिकका दुबै गाविसहरु मिलेपछि यो गाउँपालिकाले छिमेकी जिल्ला चितवन र हेटौँडा उपमहानगरपालिकालाई जोड्ने समेत काम गरेको छ । यो गाउँपालिकामा सबैभन्दा बढी राजमार्ग क्षेत्र पनि पर्नेगर्दछ भने पर्सावन्य जन्तु आरक्ष क्षेत्र जस्ता महत्वपूर्ण संरक्षित क्षेत्रले पनि छुट्टंै इज्जत दिएको छ । यसका अलावा मनहरी गाउँपालिका कृषि, पर्यटन र व्यापारका निम्ति महत्वपूर्ण रुपमा लिइएको छ ।
मनहरी बजार आफैमा पुरानो व्यापारिक केन्द्र हो भने मनहरी ८ मा रहेको देवकोट, मनहरी ६ मा रहेको रुपाचुरी जस्ता पहाडका टुप्पामा रहेका गाउँहरुमा प्रशस्तै रुपमा बेमौसमी तरकारी खेती गर्न सकिन्छ । त्यसो त साबिकको हाँडीखोलाग गाविस नै तरकारीका लागि देशमै चर्चित नाम हो ।
मनहरी गाउँपालिकाः
यहाँको कुल जनसंख्याः ३८३९९ छ । यसको क्षेत्रफल १९९.५२ वर्ग किलोमिटर रहेको छ । यसको केन्द्र हालका लागि साबिकको मनहरी गाविसको कार्यालयलाई तोकिएको छ भने स्थानीय तहको निर्वाचनपछि मनहरी ९ को रजैयामा सार्ने सहमति भएको छ । यस गाउँपालिकामा जम्मा ९ वटा वडा रहेका छन् । पूर्वमा हेटौंडा उप महानगरपालिका र राक्सिराङ गाउँपालिका पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिका तथा दक्षिणमा पर्सा जिल्ला रहेको छ । साबिकको हाँडीखोला १ र २ मिलाएर मनहरी गाउँपालिकाको वडा नं १ बनेको छ । त्यसैगरी साबिकको हाँडीखोला ४ लाई वडा नं २ मानिएको छ ।
साबिकको हाँडीखोला ३, ५ र ६ मिलाएर मनहरीको वडा नं ३ बनाइएको छ ।
साबिकको हाँडीखोला ७ लाई मनहरीको वडा नं ४ बनाइएको छ । साबिकको हाँडीखोला ८ र ९ मिलाएर मनहरी गाउँपालिकाको वडा नं ५ बनाइएको छ । साबिकको मनहरी १, २ र ५ मिलाएर मनहरीको वडा नं ६ बनाइएको छ ।
साबिकको मनहरी ३ मिलाएर मनहरी गाउँपालिकाको वडा नं ७ बनाइएको छ । साबिकको मनहरी ४ र ९ लाई मिलाएर मनहरी गाउँपालिका वडा नं ८ बनाइएको छ । त्यसैगरी साबिकको मनहरी ७ र ८ मिलाएर मनहरी गाउँपालिकाको वडा नं ९ बनाइएको छ । अहिले ९ वटै वडामा वडा कार्यालयहरु खडा गरी जनतलाई सुविधा दिनेगरी काम अघि बढाउन लागिएको गाउँपालिकाले जनाएको छ ।