१२ वैशाख २०७२ का दिन नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले वनभोज कार्यक्रम आयोजना गरेको थियो जिल्लाकै प्रशिद्ध स्थल त्रिखण्डेश्वरधाममा । विहानै धुम्म बादल लागेर पानी पर्लापर्ला जस्तो भइरहेको थियो ।

त्यसैले वनभोज कार्यक्रमलाई हेटौँडा बजारकै वनस्खण्डी क्षेत्रमा सारिएको जानकारी आयो । भेला भएका पत्रकारहरु बनस्खण्डीमा एक झमट नाचेर आत्मीयता प्रकट गर्दै थिए । खाजा खाँदै नाच्दै गरेका साथीहरुमाझ को आउने, को नआउने भन्ने गन्ती पनि हुँदै थियो । भेटघाट भएपछि घोचपेच गर्न र जिस्कन पत्रकारजति सिपालु अरु को पो होलान् र ?

१७२ सदस्य रहेको महासंघको आफ्नै परिवारको आकार ठूलो छ । महासंघका सदस्यबाहिरका अरु क्रियाशील साथीहरु पनि वनभोजमा सरिक थिए । यत्रो ठूलो भीडमा सबैले एक अर्कालाई चिन्ने कुरै आएन । एफएमले उत्तिकै पत्रकार जन्माएको जन्मायै छ । चिनिसाध्य छैन । महासंघका पदाधिकारी साथीहरु चिनापर्ची कार्यक्रम राखौँ भन्दै रोचक ढंगले परिचयात्मक कार्यक्रम चलाइसकेपछि महासंघको सदस्यता सम्बन्धी सूचना भन्दै थिए सचिव कृष्ण सारु । उनले बोल्दै गर्दा एकाएक पत्रकारहरु हलबाट बाहिर निस्के ।

जस्ताको छाना र तारजालीको भित्ता भएको हलबाट मान्छेहरु भागेपछि कसैले भूकम्प आयो भनेर कराएको सुनियो । करिब ५ बर्षअघि नै भूकम्पसम्बन्धी तालिम लिएको र रेडियो कार्यक्रमहरु निर्माण गरेको अनुभव ममा थियो । भूकम्प आउँदा आँत्तिनु हुँदैन, आँत्तेर भाग्नुभन्दा सुरक्षित स्थानको पहिचान गरेर त्यतै रहनुपर्छ भन्ने सिकाई थियो । अरु सबै बाहिर भ्याइनभ्याई गरेर बाहिर भाग्दा पनि मलाई चाहिँ हतार लागेन । ठिङ्ग उभिरहेँ । हल ढलाउला जस्तै गरी लच्कियो । त्यसपछि मैले पनि बाहिर निस्कनुपर्छ भन्ने सोचेँ । बाहिर निस्कँदा पनि कम्पन बढ्दो थियो । रुखहरु सबै हल्लिरहेका थिए । कम्पन हुँदाहुँदै छोराछोरी र श्रीमतीको सम्झना आयो । फोन डायल गरेँ, सम्पर्क हुन सकेन । सबै पत्रकारहरु भागभाग भए । एक हिसावले वनभोज बिथोलियो ।

–शिवकुमार काशी

भूकम्पपछि हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्यो भनेपछि एक राउण्ड हेटौँडा बजार घुमियो । नारायणी मल र बीओके हाउसमा समेत कम्पनले क्षति पु¥याएको देखेर अरु भवन के भए होला भनेर मनमा निकै कौतूहलता बढ्यो । जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, लोकसेवा आयोग, हेटौँडा उपमहानगरपालिका लगायत पुराना भवनहरु नियालेर हे¥यौं । तर ‘ओल्ड इज गोल्ड’ भने झैँ पुरानामा कुनै क्षति देखिएन । बरु नयाँ नयाँ घरका छतहरु भत्केका, ढलेका संरचनाहरु देख्न पाइयो । अस्पतालमा बढेको भीडमा २ जना मृत्यु घोषित भएका थिए । गाउँमा फोन लाग्दैनथ्यो, रिपोर्टहरु आएका थिएनन् ।

बेलुकासम्ममा १२ जनाजतिको मृत्यु भएको खबर सुनियो । यो क्रम बढ्दो देखियो । प्रहरी कन्ट्रोल रुममा घर भत्कनेहरुको सूचना टिप्दैमा हैरानी थियो । सबैभन्दा बढी नामटार गाविस प्रभावित रहेको पाइयो भने आग्रामा पनि मानवीय क्षति ठूलै थियो । वनभोज सिध्याएर घर चाँडै घर फर्कदा ससुराली हाँडीखोलाबाट थप बिबरण आयो । २ जना बितेको र आफन्तहरुका घर भत्किएका खबरहरु आए ।

भोलिपल्ट यो संख्या बढ्दै गयो । टाउको दुखेर दिनभर धुम्म भइरह्यो । भूकम्पको पटक पटक धक्काले त्रास र भागाभाग थियो । धेरै मान्छेहरु त्रिपाल टाँगेर बाहिरै रेडियो सुनिरहेका थिए । हेटौँडा जान मन लागेन । मनहरीतिरै दिन कट्यो । देशभरको क्षति, ढलेको धरहरा टिभीमा हेर्न मन भए पनि बिजुली अभावले त्यो सम्भव भएन । चितवनतिरको एफएमले नियमित अपडेट गरेकाले आफ्नै जिल्लाको अपडेट लिन पनि उतैको सहारा लिनुपर्ने । यसरी नै भूकम्पको पर्सीपल्ट पनि बित्यो । पर्सीपल्ट मनै झस्काउने एउटा फेसबुक स्टाटस देखेर मर्माहत भएँ ।

सुमन भोम्जन बेपत्ता भन्ने खबरले निकै मन दुखायो । झल्झली उनको बोलीचाली, हेराई, रिसाईलाई सम्झेँ । जीवितै होला, कतै रेस्क्यु गरेर अस्पतालमा राखिएको होला भनेर मन बुझाएँ । खोजीका लागि सहयोग होस् भनेर भोम्जनको फोटोसहितको फेसबुक स्टाटस लेखेँ । यसरी नै दिनहरु बित्दै गए । एकपछि अर्काे गर्दै सुमनबारे अड्कलबाजीहरु भए । अस्तिभर्खर हेटौँडा आएर स्पोर्टस् अवार्डको तयारी गरेर काठमाडौँ फर्किएका थिए उनी । तर, यसपटक मसँग भेट भने भएन । सुनेको थिएँ, मोटे ज्यानलाई पातलो बनाएको थियो अरे ।

हेटौँडा टुडे दैनिकमा काम गर्दाताका उनीसँग बाक्लो भेटघाट थियो । उनी स्पोर्टस् समाचार लेख्थे । ‘यो समाचार भोलि आएन भने ठीक हुँदैन भनेर जान्थे ।’ साँच्चै समाचार छुटेको दिन रिसाउँदै आएर भन्थे, ‘हाम्रो पनि त इज्जत हुन्छ नि यार, अब आयोजकलाई कसरी मुख देखाउने ?’ उनी रिसाएर ठूला आँखा पारिरहँदा मचाहिँ हसाइँदिन्थे । अनि मुख छाडेरै भन्थ्यो, ‘अरुजस्तो भएको भए ठीक पारिदिन्थेँ ।’ बीचबीचमा उनले यसरी थर्काउँदै घुक्र्याउँदै काम गर्थे । स्पोर्टस्बाहेक अरु समाचार चाहिँ लेख्दैनथे । त्यस्तो समाचार बुँदागत हामीलाइृ टिपाइ दिन्थे । भन्थे, ‘यस्ता झाराझुरे समाचार लेख्ने पत्रकार हो म ? स्पोर्टस् लेऊ सबै लेखिदिन्छु ।’

स्नातक तहा पढ्दा पत्रकारिता बिषय लिएर पढेका उनीसँग मेरो मकवानपुर क्याम्पसको परिक्षाहलमा भेट भयो । संयोग कस्तो भने दुबैजना नियमित पढ्न नजाने । हरेक बर्ष परिक्षाहलमा भेट्ने । एकले अर्काेलाई जिस्क्याउने । परिक्षामा सुमन र म एउटै कोठामा प¥यौं । उसँगै बेन्चमा बस्ने एउटा सुइरे सुइरे विद्यार्थी थियो । ऊ अलि ट्यालेन्ट रहेछ । उसको कापी सबै सुमनले हेरेर सारेछ । भोलिपल्ट परिक्षाहलभित्र छिर्ने बित्तिकै सुमनले भन्यो, ‘भाई आज पनि हिँजोजस्तै गर्ने है ।’ हत्त न पत्त त्यो केटाले रिसाएर हुँदैन । आज त गार्डलाई भन्दिन्छु भन्यो । गार्डको नाम सुन्ने बित्तिकै सुमनले अनेकथरि भनेर त्यसलाई थर्कायो । मुखै छाडेर गाली गथ्र्याे ऊ । मैले यसो हेरेर ‘हल्ला नगर’ भनेर आँखाले के संकेत गरेको थिएँ, उसले त त्यसलाई घिर्चामा समातेर दाब्न थाल्यो । सायद उसले मेरो इशारालाई ‘ठोक’ भन्ने बुझ्यो कि ।

पर्सीपल्ट परिक्षामा पूरै कम्ब्याक्ट लगाएर आएछ । कालो चश्मा लगाएका । फतर फतर बोलिरहनुपर्ने, जिस्किरहनुपर्ने । परिक्षा हलमा केहीबेरमा एक्सटर्नलहरु आएर बडी चेक गर्न थाले । उसको पालो आएपछि जुरुक्क उठेर ‘आर्मीलाई पनि चेक हुन्छ र सर ?’ भनेपछि कक्षाभरि हाँसो फैलिएको अहिलेजस्तो लाग्छ ।

अघिल्लो पटक नेपाल पत्रकार महासंघको चुनावमा उनी पार्षद उठ्ने भनेर घोषणा गरे । प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघबीच एलायन्स थियो । हामीले ‘सघाउँला उठ’ भन्यौं । मतदानमा उसले केही मतान्तरले हारेछ । चुनाव हारेपछि बधाई कार्यक्रममा उसले रोष्ट्रम नै ढलाउने गरी लात्ती हानेर भन्यो–‘के को एलायन्स ? एलायन्स भएको भए म किन हारेँ ? सोझो मान्छेलाई हेप्ने ?’ उसले केहीबेर उधूम मच्चायो । पछि सम्झाएर पठायौं । हामीहरुले पनि बल्ल बल्ल चुनाव जितेको थियौं ।

गत बर्षको चुनावमा पनि मुसुक्क हाँस्दै उसले पार्षदको लागि भोट मागे । यसपटकलाई जिताउनैपर्छ भनेर सबै कस्सिए । यसपटक ऊ अलि परिपक्व बनिसकेका थिए । चुनाव जितेर पार्षद पनि बने । केन्द्रीय चुनावमा पनि भोट हाले । साथीभाईसँग मिजासिलो व्यवहार गर्ने उसँग काठमाडौँ जाँदा भेट हुन्थ्यो । ऊ रिसाउँदा, रिसाएर बोल्दा मलाई चाहिँ किन किन हेरिरहन मन लाग्थ्यो । ठूला मंगोलियन अनुहार र हेरिरहूँजस्तो आँखा । त्यसैले जिस्काउँथेँ ।

तर अब ऊसँगको सम्झना केबल सम्झनामै सीमित रह्यो । महिनौं काठमाडौँ बसेर आउने उनी हेटौँडा आउने बित्तिकै छुट्टै माहौल बनाउथे । १९ वैशाख २०७२ का दिन दिउँसो ३ः४५ तिर एउटा एम्बुलेन्स रन्किएर हेटौँडा १० स्थित उनको घरमा आउँछ । र, सेतो प्लाष्टिकमा प्याक भएको उनको पार्थिव शरीरलाई छोडेर काठमाडौँतिरै रन्कन्छ । तीनतले घरको अघिल्लो टप ढल्नै लागेकाले दर्जनबढी वटा टेका दिइएको छ २ वटा टेकोले मूलद्वारलाई धानेको छ । भूकम्पमा छोरो हराइरहँदा यता घर पनि आधा ढल्नै लागेको छ । उनको बिभत्स शव देखेर आमा र बहिनीहरु मुर्छित हुन्छन् । सम्हाल्दै, सम्हाल्दै लामाहरुले विधि पु¥याएर उनको शवलाई निकाल्छन् । सयौं मलामीकाबीच साँझपख घाम डुब्नै लाग्दा सुमनलाई अन्तिम बिदा दिइन्छ । चितामा आगो ह्वारह्वारी जलिरहँदा उनीसँग बोलेको र जिस्केको यादहरु घुमिरहन्छन् ।

यस्तैमा झट्ट सम्झना आउँछ–‘बरु पत्रकार महासंघको बनभोजमा आइदेको भए ऊ बाँच्थ्यो ।’ साथीहरुले सुनाए, ‘वनभोजमा महिला पत्रकार र बुढाखाडा पत्रकारहरु पनि आउँछन् खुलेर जिस्कन पाइँदैन त्यसैले आउँदिन’ भनेर सुमनले भनेका थिए रे । मनमनै सम्झें, वनभोज हो महिला र अग्रज पत्रकारलाई नबोलाएको भए सायद सुमन बाँच्थे कि ? आखिर मनको तर्कना न हो । सोचेजस्तो के हुन्थ्यो र ?

(साथी सुमन भोम्जनको सम्झनामा २०७२ साल वैशाखमा प्रकाशित यो लेख स्मरणका लागि पुनः प्रकाशन गरिएको हो । –सम्पादक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here