हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ ।

१० अर्ब ५० लाख रुपैयाँ लागतमा स्थापना गरिएको उद्योगले प्रथम चरणमा दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएको छ ।

उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने जनाइएको छ । उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ (चुनढुङ्गा) मकवानपुरको कैलाश गाउँपालिकाको राक्सिराङ, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको चुनढुङ्गा खानीबाट दैनिक १० हजार मेट्रिक टन चुनढुङ्गा सङकलन गर्दै आएको उद्योगले जनाएको छ ।

उद्योगद्वारा उत्पादित ऋद्धिसिद्धि ब्राण्डको सिमेण्ट काठमाडौँ, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा सुपथ मूल्यमा वितरण भइरहेको क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यवस्थापनले युरोपेली प्रविधि र रोबोट प्रयोगबाट गुणस्तरीय उत्पादन गरिरहेको छ । हाल उद्योगमा प्रशासन, प्रयोगशाला, भण्डारण र प्राविधिक र कामदार गरी तीनसय ले प्रत्यक्ष रोजगारी पाएको उद्योग व्यवस्थापनले जनाएको छ । हेटौँडामा यसअघि हेटौँडा सिमेण्ट र शिवम् उद्योगबाट सिमेण्टहरु उत्पादन हुँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here