प्रिमेश सिवाकोटी
रौतहट । मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कारबाइड प्रयोग गरेर पकाइएको आँंप रौतहटसहित तराईका स्थानीय बजारमा बिक्रीवितरण भइरहेको छ ।
भारतका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कारबाइड प्रयोग गरी पकाइएका आंँप तराईका विभिन्न जिल्लाका शहरमा बिक्रीका लागि धमाधम ल्याउन थालिएको छ । यसरी विभिन्न विषादि प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खान समेत नहुने स्वास्थ्यकर्मीले बताएका छन् ।
चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा बिक्रीका लागि विषादि प्रयोग गरिएका आंँप राखिएका छन् । आँंपमा विषादि हालेर पकाइने गरेकोले सावधानी अपनाउन पनि स्वास्थ्यमर्कीले बताएका छन् ।
चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीले हानिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन बताउनुभयो । विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगायतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने उहाँको भनाई छ ।
चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा अत्यधिक कारबाइड प्रयोग गरिएको आँप निर्बाधरुपमा बिक्री वितरण गरिएको भए पनि त्यसको रोकथाम तर्फ हालसम्म स्थानीय प्रशासनले कुनै पहल नगरेको उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टीका घिमिरेले बताउनुभयो । उहाँले मानवस्वास्थ्यको खेलवाड हुने गरी विषादि प्रयोग गरिएको आँप बिक्री वितरण तुरुन्त रोक्न पनि माग गर्नुभयो ।