(हरिबोल (हरिबहादुर) महत २०४९ र २०५४ मा भएको स्थानीय निर्वाचनमा हेटौँडा नगरपालिकाका उपमेयर हुनुहुन्थ्यो । नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीमा रहेर काम गर्दै लोकप्रिय जनप्रतिनिधिको परिचय बनाउन सफल महत दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार हुनु भएको छ । उसो त हेटौँडा नगरपालिका पनि आसपासका केही गाविस गाभिएर हेटौँडा उपमहानगरपालिका भएको छ । ‘जनप्रतिनिधिको अभावमा हेटौँडा पछि प¥यो, नत्र काठमाडौँपछि दोस्रो वैकिल्पक सहर भइसक्थ्यो,’ महतले भन्नुभयो, ‘अब हेटौँडाको बाँकी सपना पूरा गर्ने योजनासहित जनतामा आएको छु ।’ उहाँसँगको संक्षिप्त कुराकानी)

– रोजगार र स्वरोजगारहरुको सहर हुनेछ हेटौँडा
– काठमाडौँपछि रोजाइको सहर हुनेछ हेटौँडा
– नयाँ उद्योगहरु थपिनेछन्, अवसर खुल्नेछ
– जहाँ जनतालाई दुख्छ, त्यहाँ हरिबोल महत सबैभन्दा पहिला पुग्छ

२० वर्षपछि फेरि जनप्रतिनिधिको निर्वाचनमा होमिनु भएको छ, के छ हेटौँडालाई विकास गर्ने योजना र सपना ?

महतः हेटौँडा नगरपालिकामा दुई कार्यकाल उपमेयर भइसकेको थिएँ । अहिले उपमहानगरपालिका बनेको छ र पार्टीले पनि मेयरको उम्मेदवार बनाएको छ । यस्तो अवस्थामा त्यतिखेर बाँकी रहेका कयौँ सपना पनि यसपटक पूरा गर्ने नै छु । उसो त समय फेरिएको छ । दुईदशकमा हेटौँडाले पनि काँचुली फेरेको छ । यस्तो अवस्थामा हेटौँडा सपना के हो र कसरी पूरा गर्ने भनेर ‘हेटौँडा घोषणापत्र’ नै सार्वजनिक गरेर जनताको घरदैलोमा गइरहेको छु । एमालेको घोषणापत्र र हेटौँडा घोषणापत्र अनुसार नै हेटौँडाको विकासका लागि अहोरात्र खटिनेछु ।

के छ त खास हेटौँडा घोषणापत्रमा ?

महतः हो, हामीले हेटौँडा घोषणापत्र नै जारी गरेका छौँ र भनेका छौँः ‘हेटौँडालाई काठमाडौँपछिको दोस्रो व्यवस्थित, विकसित, सुरक्षित र आकर्षक सहर बनाउनेछौँ ।’ यस्तै हेटौँडा मध्यनेपालको हावापानी सुहाउँदो बस्ती र आवासका लागि उत्कृष्ट स्थल पनि हो । पर्यटकीय हिसाबले पनि नेपालका सबै भूभागका मानिसको आकर्षण हेटौँडा बनिरहेको छ । यस्तोबेला हेटौँडा रोजगारयुक्त र स्वरोजगारहरुको सहर बनाउने हाम्रो खास योजना हो ।

तर हेटौँडामा भएका सरकारी उद्योग र बहुराष्ट्रिय उद्योगहरु बन्द हुँदैछन् अनि कसरी भइन्छ रोजगार र स्वरोजगारको सहर ?

महतः हो, उद्योगधन्दामा केही समस्या देखिएको थियो । खासकुरा गर्नुहुन्छ भने, यो सबै समस्या पनि जनप्रतिनिधिको अभावमा मौलाएको विकृति थियो । अब त्यस्तो हुँदैन । छिमेकी देशबाट पनि उद्योगधन्दाका लागि सहयोग जुटाउने काम हुनेछ । योग्यहरुलाई हेटौँडामै काम र काम अनुसारको ज्याला हुने नै छ । त्यसैले क्षमतावानहरुले अब हेटौँडा छाड्नु पर्दैन । मैले हेटौँडाका उद्योगी, व्यापारीहरुसँग पनि छलफल चलाइसकेको छु । अब हेटौँडामा उद्योग धन्दा थपिन्छन् । रोजगारी थपिन्छ । त्यसपछि कृषिमा पनि हामी हेटौँडालाई स्वरोजगारी कार्यक्रमहरु ल्याउने योजनामा छौँ ।

अनि स्मार्ट सिटी, फास्ट ट्र्याक, सुरुङ मार्ग, कान्ति राजपथलगायत बाटोबारे पनि हेटौँडाले गफ मात्रै गर्छ, काम गर्दैन नि ?

महतः हो, लामो समयदेखिका यी राष्ट्रिय गौरवका आयोजनाहरु पूरा हुन सकेका छैनन् । यी आयोजनाहरु सरकार मातहतका हुन् । हेटौँडाबाट यसको लबिङ चैँ भनेजसरी हुन नसकेको पक्का हो । अहिले हामीले भीमफेदी कुलेखानी सुरुङमार्ग बनाएर लिंक रोड जोड्ने योजना अघि बढाउने भनेका छौँ । यसो हुँदा डेढ घण्टामै काठमाडौँ आउजाउ सहज हुनेछ । हेटौँडा बजारलाई व्यवस्थित सहर बनाउने खाकाहरु पनि ल्याएका छौँ ।

हेटौँडा यातायातको पनि सहर हो, यसको व्यवस्थापन कसरी गर्ने योजना छ ?

महतः हो, यातायातका धेरै रुट भए झैँ यातायातमा हेटौँडाले ठूलो लगानी गरेको छ । यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउने हाम्रो दायित्व हो । सडक विस्तार यातायात व्यवसायीले गरेको लगानी सुरक्षित बनाउन हामी पहल गर्नेछौँ । विश्व परिवेश कसरी अघि बढेको छ र हेटौँडालाई त्यही अनुपातमा परिमार्जन गर्दै कसरी काठमाडौँपछि हेटौँडा सहर वैकिल्पक र दोस्रो रोजाइको सहर बनाउने भन्ने नै हाम्रो ध्येय बनेको छ ।

स्थानीय तहको निर्वाचनमा जनसहभागिता कस्तो छ ?

महतः अत्यन्त उत्साहजनक छ । आफैँ प्रत्येक वडावडामा पुगेको छु । यही गाउँठाउँको छोरा हुँ । ‘जहाँ जनतालाई दुख्छः त्यहाँ हरिबोल महत सबैभन्दा पहिला पुग्छ’ भनेर जनसमुदायले नै भन्ने गर्छन् । उनीहरुको उत्साह र हौसलासँगै गतिलो टिमवर्क, कार्यकर्ता व्यवस्थापन र पार्टीको मजबुत संयोजनले हेटौँडामा एमाले तीनदशकदेखि बलियो र एक नम्बरको पार्टी बनेको छ । अरु मिलेर उठ्दा पनि हामी पहिलो हुनेमा ढुक्क छौँ ।

(स्थानीय तह निर्वाचनताका रातोसूर्यडटकममा रामकुमार एलनले गरेको कुराकानी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here